सोनादा: सोनादा भेगको एक प्रतिष्ठित विद्यालय सोनादा उच्चत्तर माध्यमिक विद्यालयमा निःशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ। सिलगढी ग्रेटर लायन्स आई अस्पतालको सौजन्य तथा विद्यालयको आयोजनामा सम्पन्न यस शिविरमा आँखा सम्बन्धी विभिन्न समस्याहरू जाँच गरियो। सिलगढी ग्रेटर लायन्स आई अस्पतालबाट आएका आँखा चिकित्सकहरूले विद्यालयका सम्पूर्ण विद्यार्थीहरू लगायत ३०० भन्दा अधिक मानिसहरूका आँखा जाँच गरियो। लायन्स आई अस्पतालका वरिष्ठ चिकित्सक मोनालिसा चक्रवर्तीको अगुवाईमा आएका चिकित्सकहरूले यस शिविरमा आएका रोगीहरूको आँखा सम्बन्धित समस्याहरूलाई चिन्हित गरी आवश्यक सेवा उपलब्ध गराउने प्रयास गरे। यस शिविरमा थुप्रै विद्यार्थीवर्गको आँखा सम्बन्धित समस्याहरूलाई निराकरण गर्न सिलगढी अस्पतालमा रेफर गरी निःशुल्क उपचार गरिने बताए भने कतिपय बुजुर्गहरूको मोतीबिन्दु शैल्यक्रिया पनि गरिने बताए। यस वर्ष सोनादा उच्चत्तर माध्यमिक विद्यालयले आफ्नो स्थापना स्वर्ण जयन्ती महोत्सव विभिन्न माध्यमबाट पालन गरिरहेको हुँदा यसै महोत्सवको एक भाग स्वरूप आजको यो आँखा जाँच शिविर आयोजना गरिएको बताउदै विद्यालयका शिक्षक प्रभारी दीपेन्द्र मुखियाले सिलिगुडी ग्रेटर लायन्स आई अस्पतालका प्रमुख कार्यकारी अधिकारी डा राजेस सैनी अनि सिलिगुडी लायन्स आई अस्पताललाई आभार प्रकट गरे।