मुख्यमन्त्रीले दिए राज्यबासीलाई बधाई
गान्तोक: इन्डिया टुडे टुरिजम सर्भे एण्ड अवार्ड्स २०२५ ले सिक्किमको जुलुकस्थित ऐतिहासिक पुरानो सिल्क रुटलाई मोस्ट सेनिक रुट इन इन्डियाको प्रतिष्ठित उपाधिबाट सम्मानित गरेको छ। भारतको सबैभन्दा मनोरम मार्गको रूपमा प्राप्त यो सम्मानले यस क्षेत्रको पर्यटकीय अद्भुत परिदृश्य, समृद्ध सांस्कृतिक सम्पदा र दिगो पर्यटनको लागि राज्यको प्रतिबद्धतालाई उजागर गरेको छ। उपाधी हालै नयाँ दिल्लीमा आयोजित इन्डिया टुडे ट्राभल अवार्ड समारोहमा प्रदान गरिएको थियो। सिक्किम सरकारका पर्यटन तथा नागरिक उड्डयन विभागीय मन्त्री छिरिङ टी भोटिया र प्रधान सचिव सीएस रावले उक्त सम्मान ग्रहण गरेका थिए। मुख्यमन्त्री प्रेमसिंह तामाङले यस महत्वपूर्ण उपलव्धिका लागि खुशी व्यक्त गर्दै यस उल्लेखनीय उपलब्धिका लागि राज्यका जनता र पर्यटन तथा नागरिक उड्डयन विभागलाई बधाई दिएका छन्। यस उपलव्धिले सिक्किमलाई एक प्रमुख यात्रा गन्तव्यको रूपमा स्थापित गरेको उल्लेख गर्दै मुख्यमन्त्रीले इन्डिया टुडेप्रति कृतज्ञता व्यक्त गरेका छन्। सिक्किम सरकार यस ऐतिहासिक मार्गको प्राकृतिक आकर्षण र सांस्कृतिक महत्वको संरक्षण सुनिश्चित गर्दै इको-टुरिज्म र दिगो यात्रालाई बढावा दिन प्रतिबद्ध रहेको उल्लेख मुख्यमन्त्रीले आफ्नो आधिकारिक सामाजिक पेजमा गरेका हुन्।