गान्तोक: पर्यटन विभागको पहलमा पर्यटन विषयमा अध्ययरत विद्यार्थीहरूलाई लिएर आयोजित ट्रेकिङ सफलतापूर्वक सम्पन्न भएको छ। विद्यार्थीहरूको लागि ट्रेकिङमार्फत साहसिक पर्यटन, आतिथ्य र पर्यावरणीय संरक्षणमा व्यावहारिक प्रशिक्षण प्रदान गर्ने उद्देश्यले शुरू गरिएको कार्यक्रम सिक्किमको ५०औं राज्य स्थापना उत्सवको एक भागको रूपमा आयोजन गरिएको हो। कार्यक्रमलाई दुई भागमा विभाजन गरिएको थियो। जसमा राज्यभरिका सरकारी महाविद्यालयमा अध्ययरत विद्यार्थीहरूले सहभागिता जनाएका थिए। पहिलो चरणमा ५० जना विद्यार्थीहरू सहित कूल एकसय जनाले पर्यटन सम्वन्धी व्यवहारिक ज्ञान प्राप्त गर्ने अवसर पाएका छन्। ट्रेकिङको क्रममा युनेस्को विश्व सम्पदा स्थल, कञ्चनजङ्गा राष्ट्रिय निकुञ्जभित्र रहेका प्रसिद्ध जोङ्ग्री ट्रेकबारे जानकारी दिइएको थियो। विद्यार्थीहरूलाई पर्यटन क्षेत्रअन्तर्गत साहसिक पर्यटनमा एक्सपोजर दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो। पाँच दिने ट्रेकिङ पर्यटन तथा नागरिक उड्डयन विभागको एडभेन्चर सेलले भारतीय हिमालयन साहसिक तथा इको-टुरिज्म केन्द्र चेम्चेसँगको सहकार्यमा आयोजना गरेको हो। पाँच दिवसीय ट्रेकिङ अवधिभरमा विद्यार्थीहरूलाई साहसिक पर्यटन, पदयात्रा, भ्रमण सञ्चालन, आतिथ्य व्यवस्थापन, पर्यावरणीय संरक्षण, स्थानीय वनस्पति र जीवजन्तुमाथि अध्ययन प्रदान गरियो। उल्लेखनीय छ, गत २९ मार्चदेखि शुरू भएको ट्रेकिङको समापन आज भएको छ। यस अवसरमा विद्यार्थीहरूलाई प्रमाण पत्र प्रदान गरियो। विद्यार्थीहरूलाई सम्बोधन गर्दै वाईटीडीसीका अध्यक्ष कार्जाङ भोटियाले विद्यार्थीहरूद्वारा देखाइएको उत्साहको प्रशंसा गर्दै सिक्किममा पर्यटन क्षेत्रलाई विस्तार गर्न प्रशस्त सम्भावना रहेको बताए।