खरसाङ: तीनधारेको क्रिकेट बजारस्थित एमई गोलाईमुनि अनि १७ माइलको माथितिर आज दिउँसो आगलागीको घटना घटेको छ। उक्त आगलागी बढेर ठूलो हुने र धेरै क्षति हुने सम्भावना भए पनि स्थायीनहरुले तत्कालै खरसाङको अग्निशमन केन्द्रमा सम्पर्क गरी बोलाएकोले गर्दा आगो निभाउन सफल बनेको बताइएको छ। राष्ट्रिय राजमार्ग नजिकतिर आगो लागेकोले अग्निशमन विभागबाट दमकल आएर आगो निभाइएको जानकारी प्राप्त भएको छ। उक्त आगोलाई नियन्त्रणमा नल्याएको भए तीनधारेको क्रिकेट बजार र १७ माइल क्षेत्रलाई ठूलो खतरा हुनसक्ने थियो भनी स्थानीयहरुले बताएका छन्।

उक्त आगलागीको घटनामा तीनधारे पुलिस आउट पोष्टको पुलिसहरु, पञ्चायत समिति सदस्य साजन दर्जी लगायत स्थानीयहरु सचिन प्रधान, विनयकुमार छेत्री, अनिल राई साथै १७ माइल क्षेत्रका मानिसहरू आगो नियन्त्रणका लागि रहेको जानकारी प्राप्त भएको छ। तीनधारे क्षेत्रमा लगातार रुपमा आगलागीको घटना र अहिलेको सुक्खा समयमा हुने आगलागीको घटनालाई हेरेर तीनधारे क्षेत्रमा जतिसक्दो चाढै नै अग्निशमन केन्द्रको निर्माण गरिनु पर्ने आवश्यकतामा स्थानीयहरुले जोड दिएका छन्।

अर्कोतिर तीनधारे महानदी समष्टि अन्तर्गत सिविटार चियाबारीको वीरदले गाउँमाथिदेखि १२ नम्बर गाउँतिर पनि बुधबार राती अचानक आगो लागेर उकालो गएको थियो।सिविटार १२ नम्बर गाउँमा रहेको सरस्वती प्राथमिक पाठशाला नजिकतिरसम्म आगो पुगेको थियो भने स्थानीय गाउँलेहरु मिलेर आगो निभाउने कार्य गरेका थिए। उक्त आगोले सिविटारको १२ नम्बर गाउँमा आगो बढेर जाने सम्भावनाले स्थानीयहरु आएर लगातार रुपमा आगो निभाउने कार्य गरिरहेको जानकारी प्राप्त भएको छ। विशेष गरेर चिया गाछहरुलाई आगोले क्षति नगरोस् भनेर किनारी काट्ने कार्य गरिएको जानकारी प्राप्त भएको छ। आगलागीको घटनालाई मध्यनजर राखी सिविटार चियाबारीको प्रबन्धक राजीव छेत्री र सह प्रबन्धक लगायत पञ्चायत सदस्य राजीव तामाङ पनि उपस्थित रहेका थिए। अर्कोतिर सिविटार चियाबारीको ४ नम्बर क्षेत्रमा पञ्चायत समिति सदस्य कुसाङ लामा र स्थानीयहरु आएर आगो निभाउने कार्य लगातार रुपमा गरिरहेको जानकारी प्राप्त भएको छ।