खरसाङ: सिटोङ युनाइटेड खरसाङमा भईरहेको स्व. केदारनाथ मेमोरियल टी ट्वेन्टी क्रिकेट टुर्नामेन्टको च्याम्पियन्स बनेको छ। खरसाङ महकुमा खेलकूद संघको आयोजनामा गत २२ मार्चदेखि खरसाङको भिक्टोरिया स्कूलको खेल मैदानमा भईरहेको स्व केदारनाथ प्रसाद मेमोरियल टी ट्वेन्टी क्रिकेट टुर्नामेन्टको फाइनलमा सिटोङ युनाइटेड र फेन्तम सिलगढीमाझ सम्पन्न भएको छ। यस फाइनल खेलमा सिलगढीले टस जितेर पहिला ब्याटिङ गर्दै १४ ओभर २ बलमा सबै विकेट गुमाएर १३० रन बनाएका थिए। सिलगढी फाइनलमा ढिलो आईपुगेको कारणले केवल १५ ओभर मात्र खेल्न पालको थियो। सिलगढीको तर्फबाट सुमनले ३५ र बसन्तले २८ रनको योगदान दिएका थिए। सिटोङको लागि अनुप रोयले ४ विकेट र सचित राईले २ विकेट लिएका थिए। १३१ रनको लक्ष्यलाई खेदो गर्दै सिटोङ युनाइटेडले १५ ओभर ५ बलमा ४ विकेट गुमाएर १३५ रन बनाएको थियो अनि सिटोङ युनाइटेड ६ विकेटले स्व केदारनाथ प्रसाद मेमोरियल क्रिकेट टुर्नामेन्टको च्याम्पियन बनेको छ। सिटोङका लागि सचित राईले ८१ रनको पारी खेलेका थिए। यस फाइनलमा म्यान अफ् द म्याच सिटोङका लागि ८१ रन अनि २ विकेट लिने सचित राई चयन भएका छन्। त्यसरी नै म्यान अफ् द टुर्नामेन्ट सिमलबारीको राज चन्द्र चयन भएका छन् जसले दुईवटा खेलमा एउटा शतकसहित १८५ र पनि बनाएका थिए। उनी यस टुर्नामेन्टमा शतक बनाउने एक मात्र खेलाडी हुन्। त्यसरी नै बेस्ट बलरको रुपमा सिटोङका राज कुमाल अनि बेस्ट विकेट किपरको रुपमा एम्ब्रोसिया सोनादाको खेलाडी चयन भएका छन्। यस फाइनल खेलमा मुख्य अतिथिको रुपमा सभासद श्याम शेर्पा उपस्थित रहेका थिए भने विशिष्ट अतिथिको रुपमा भिक्टोरिया स्कूलको प्रधान अध्यापक मोलय शाह र शिक्षक प्रवेश थापा साथै खरसाङ महकुमा खेलकूद संघको सभापति मोहन योञ्जन र मुख्य संरक्षक एसबी सुनवार उपस्थित रहेका थिए। यस क्रिकेट टुर्नामेन्टको च्याम्पियनलाई ट्रफीससहित २१ हजार रुपियाँ अनि पराजित दललाई ट्रफीससहित एघार हजार रुपियाँ प्रदान गरिएको छ। यस स्व केदारनाथ मेमोरियल टी ट्वेन्टी क्रिकेट टुर्नामेन्टको फाइनल खेल विषयमा पत्रकारहरुसित कुराकानी गर्दै खरसाङ महकुमा खेलकूद संघको सचिव निर्मल गुरुङले खरसाङ महकुमा खेलकूद संघको आयोजनामा गत २२ मार्चदेखि स्व केदारनाथ मेमोरियल टी ट्वेन्टी क्रिकेट टुर्नामेन्ट शुरु भएको थियो र यसको फाईनल खेल बिहीबार सम्पन्न भएको जसमा फेन्तम सिलगढीलाई ६ विकेटले पराजित गर्दै सिटोङ युनाइटेड च्याम्पियन भएको जानकारी गराएका छन्। उनले यस टी ट्वेन्टी क्रिकेट टुर्नामेन्टमा जम्मा २० वटा टिमहरुले सहभागिता जनाएका छन् भने यस क्रिकेट टुर्नामेन्टको विजेतालाई ट्रफीससहित २१ हजार र उप विजेतालाई ट्रफीससहित ११ हजार रुपियाँ प्रदान गरिएको जानकारी गराएका छन्।

सचिव निर्मल गुरुङले यस फाइनल खेलमा सिलगढीको टिम निक्कै ढिलो गरी आएको कारण एक ओभर कम्ती गरिएको र आगामी वर्ष सिलगढीलाई प्रवेस निषेध गरिएको पनि जानकारी गराएका छन्। उनले यो स्व. केदारनाथ प्रसाद मेमोरियल क्रिकेट टुर्नामेन्टको आयोजनामा सहयोग गर्ने सबैप्रति आभार प्रकट गरेका छन्।