मिरिक: भारतको संविधान अनुसार गोर्खाहरुको स्थायी राजनीतिक समाधान तत्काल सुनिश्चित गर्नुपर्ने माग गर्दै गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) मिरिक ब्राञ्च कमिटीले मिरिक बजार, सौरेनी बजार तथा तराई क्षेत्रमा व्यापक पोस्टरिङ गरेको छ। पार्टीका मिडिया सेल प्रभारी दिनेश साम्पाङका अनुसार, मिरिक ब्राञ्च कमिटी अध्यक्ष महेन्द्र खड्काको नेतृत्वमा समष्टि कमिटी तथा भ्रातृ संगठनका प्रतिनिधिहरूले संयुक्त रूपमा यो अभियान सञ्चालन गरेका हुन्।
भोलि हुने महत्वपूर्ण वार्तालाई लक्षित गर्दै, मिरिक ब्राञ्च कमिटी अध्यक्ष महेन्द्र खड्काले वार्ता टोलीलाई शुभकामना व्यक्त गर्दै भने, “भाजपा संकल्प पत्रमा उल्लेख गरिएको स्थायी राजनीतिक समाधान भारत सरकारले अविलम्ब कार्यान्वयन गर्नुपर्छ। गोर्खाहरुको निम्ति प्रधानमन्त्री नरेन्द्र मोदीले गरेका वाचाहरू पूरा गर्ने समय यही हो।”
खड्काले थपे, “दार्जीलिङ, तराई, डुवर्स तथा सिलिगुडीका जनताले भाजपालाई स्थायी राजनीतिक समाधानका लागि आफ्नो बहुमूल्य मत प्रदान गरेका छन्। अब यसको प्रतिफल देखिनु आवश्यक छ। गोर्खा समुदायले देश र समाजका लागि पुर्याएको योगदान तथा बलिदानको सम्मान गर्ने समय यही हो।”
वार्तालाई लिएर गोरामुमो सकारात्मक रहेको बताउँदै उनले भने, “हामी वार्ताका प्रति पूर्ण आशावादी छौं। यस वार्ताले समाधानको दिशामा ठोस पहल गर्नेछ।”
पोस्टरिङ अभियानका क्रममा खड्काले प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह तथा सांसद राजु बिष्टलाई वार्ता सुनिश्चित गरेकोमा आभार व्यक्त गरे। साथै, उनले वर्तमान अवस्थामा दार्जीलिङ पहाड अस्तव्यस्त रहेको, नागरिकमा निराशा र त्रास व्याप्त रहेको उल्लेख गर्दै भने, “यस समस्याको समाधान भनेकै भारत सरकारले संविधानको प्रावधान अनुरूप न्याय सुनिश्चित गर्नु हो।”
गोरामुमोको यो अभियानले गोर्खा समुदायका आकांक्षाहरूलाई फेरि एकपटक उजागर गरेको छ। अब वार्ताबाट कस्तो निष्कर्ष निस्कन्छ भन्ने प्रतीक्षामा सबैको ध्यान केन्द्रित हुनेछ।