हेमिल्टन: न्यूजील्याण्डले ब्याट र बल दुवैको साथ फेरि एकपल्ट उत्कृष्ट प्रदर्शन गर्दै पाकिस्तानलाई बुधवार खेलिएको दोस्रो वनडे इण्टरनेशनल क्रिकेट म्याचमा ८४ रनले पराजित गऱ्यो। यस जीतको साथै न्यूजील्याण्डले ३ वटा वनडे म्याचको सीरीजमा २-०-को अजेय बढ़त हासिल गऱ्यो। हेमिल्टनको सेडोन पार्कमा टस हारेर पहिला ब्याटिंग गर्दै न्यूजील्याण्डले ५० ओभरमा ८ विकेट गुमाएर २९२ रनको चुनौतीपूर्ण स्कोर बनायो। पदार्पण म्याच खेलिरहेका रीस मारिउ (१८ रन) र निक केली (३१ रन)-को ओपनिंग जोड़ीले ६.२ ओभरमा ५४ रन जोड़े पनि एक समय न्यूजील्याण्ड १३२ रनमा ५ विकेट गुमाएर संघर्ष गरिरहेको थियो। त्यहाँबाट विकेटकीपर ब्याटर मिचेल हे-ले उत्कृष्ट ब्याटिंग गर्दै आयोजक टीमलाई असल स्थितिमा पुऱ्याए। हे-ले ७८ बल खेलेर ७ वटा चौका र ७ वटा छक्काको साथ अविजित ९९ रन बनाए। यसबाहेक अलराउण्डर मुहम्मद अब्बासले ३ वटा चौकाको साथ ४१ रनको योगदान दिए। हे-ले अब्बाससँग छैटौं विकेटको निम्ति ७७ रनको पार्टनरशीप गरे। अब्बास आउट भएपछि हे-ले नाथन स्मिथ र बेन सीअर्ससँग ससाना पार्टनरशीप गरेर टीमलाई २९२ रनसम्म पुऱ्याए। पाकिस्तानका बलरहरूमा मोहम्मद वसीम र सुफियान मुकीमले २-२ विकेट लिए। जवाफमा पाकिस्तानको शुरुवात चरम निराशाजनक रह्यो अनि टीम ४१.२ ओभरमा २०८ रन बनाएर अलआउट भयो। पाकिस्तानले १२ ओभर भित्रै केवल ३२ रनमा ५ विकेट गुमाउँदा नै न्यूजील्याण्डको जीत तय भएको थियो। आठौंं ब्याटरको रूपमा आकिफ जावेद आउट हुँदासम्म स्कोर ११४ रनमा ८ विकेट रहेको थियो। त्यहाँबाट फहीम अशरफ र नसीम शाहले लड़ाकू ब्याटिंग गरेर टीमलाई सम्मानजनक स्कोरसम्म पुऱ्याए। सातौं नम्बरमा ब्याटिंग गर्दै फहीमले ६ वटा चौका र ३ वटा छक्काको साथ ७३ रन बनाए। उनले नसीमसँग नवौं विकेटको निम्ति ६० रनको पार्टनरशीप गरे। नसीमले ४४ बल खेलेर ४ वटा चौका र ४ वटा छक्काको साथ ५२ रन बनाए। पाकिस्तानको शीर्ष क्रममा बाबर आजम १, कप्तान मोहम्मद रिजवान ५, सलमान आगा ९ र इमाम-उल-हक ३ रन बनाएर आउट भए। न्यूजील्याण्डका बलरहरूमा बेन सीअर्सले सर्वाधिक ५ विकेट लिए। यसबाहेक जेकब डफीलाई पनि ३ विकेट प्राप्त भयो।