कालेबुङ: गोर्खा राष्ट्रिय मुक्ति मोर्चा कालेबुङले कालेबुङ बजारमा संविधानको प्रावधानअनुसार गोर्खाहरूको स्थायी राजनीतिक समाधान तत्काल गर्नुपर्ने माग राख्दै आज कालेबुङ बजारमा व्यापक पोस्टरिङ गरेको छ।
गोरामुमो नेतृत्वबर्ग साथै कार्यकर्ता द्वारा कालेबुङ टाउनमा पोस्टरिङ कार्यक्रम सक्रिय सहभागिता जनाएको पार्टीका मिडिया सेल प्रभारी दिनेस साम्पाङका अनुसार यो अभियानको उद्देश्य गोर्खा समुदायको राजनीतिक अधिकार सुनिश्चित गर्न भारत सरकारलाई दबाब दिनु हो।
गोरामुमो कालेबुङले भोलि हुने वार्ताको निम्ति वार्ता टोलीलाई शुभकामना व्यक्त गर्दै भाजपाको संकल्प पत्रमा उल्लेख स्थायी राजनीतिक समाधानलाई भारत सरकारले अविलम्ब कार्यान्वयन गर्नुपर्ने माग समेत गरेको छ। ‘‘दार्जीलिङ, तराई, डुवर्स र सिलिगुडीका जनताले लामो समयदेखि स्थायी राजनीतिक समाधानको प्रतीक्षा गरिरहेका छन्। यसै सन्दर्भमा, हाम्रो अभियानले सरकारलाई जनताको भावनाको कदर गर्न प्रेरित गर्नेछ भनी गोरामुमोले जनाएका छन्।
दार्जीलिङ पहाड, तराई तथा डुवर्सका जनताले २००९ देखि २०२४ सम्म्को लोकसभा चुनावमा भारतीय जनता पार्टीलाई स्थायी राजनीतिक समाधानको लागि आफ्नो बहुमूल्य मत प्रदान गर्दै आइरहेका छन्। त्यसकारण, भोलि हुने वार्तामा भारत सरकारले सकारात्मक पहल गर्ने विश्वास गोरामुमो कालेबुङले व्यक्त गरेको छ।
यस क्रममा गोरामुमोले प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह तथा सांसद राजु बिष्टलाई वार्ता पहलका लागि आभार व्यक्त गरेको छ। पार्टीको भनाइ अनुसार, ‘‘यो वार्ता ऐतिहासिक महत्वको छ, जसबाट गोर्खाहरूको राजनीतिक भविष्य निर्धारण हुनेछ। भारत सरकारले यसलाई गम्भीरतापूर्वक लिएर स्थायी समाधानको मार्ग प्रशस्त गर्नुपर्छ भनी गोरामुमो कालेबुङले पोस्टरिङ गर्ने क्रममा भने।