खरसाङ: गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) खरसाङ ब्राञ्च कमिटीले संविधानको प्रावधान अनुसार गोर्खाहरूको स्थायी राजनीतिक समाधान तत्काल गर्नु पर्ने मांगमा खरसाङमा पोस्टरिङ गरेको छ।
गोरामुमो खरसाङ ब्राञ्च कमिटीका अध्यक्ष निमा लामाको नेतृत्वमा सम्पन्न पोस्टरिङ कार्यक्रममा समष्टि कमिटीका पदाधिकारीहरू तथा भातृ संगठनका प्रतिनिधिहरूले सक्रिय सहभागिता जनाएका थिए। यो अभियानको उद्देश्य गोर्खा समुदायको राजनीतिक अधिकार सुनिश्चित गर्न भारत सरकारलाई दबाब दिनु रहेको बताइएको छ। गोरामुमो खरसाङ ब्राञ्च कमिटीले भोलि हुने वार्ताको लागि वार्ता टोलीलाई शुभकामना व्यक्त गर्दै भाजपाको संकल्प पत्रमा उल्लेख गरिएको स्थायी राजनीतिक समाधानलाई भारत सरकारले अविलम्ब कार्यान्वयन गर्नुपर्ने माग समेत गरेको छ। प्रचार-प्रसार सचिव भुपेन्द्र गुरुङका अनुसार, ‘‘दार्जीलिङ, तराई, डुवर्स र सिलिगुडीका जनताले लामो समयदेखि स्थायी राजनीतिक समाधानको प्रतीक्षा गरिरहेका छन्। यसै सन्दर्भमा, हाम्रो अभियानले सरकारलाई जनताको भावनाको कदर गर्न प्रेरित गर्नेछ।’’

भुपेन्द्र गुरुङले जारी गरेको विज्ञप्तिमा उल्लेख छ कि दार्जीलिङ पहाड, तराई तथा डुवर्सका जनताले २००९ देखि भारतीय जनता पार्टीलाई स्थायी राजनीतिक समाधानको लागि आफ्नो बहुमूल्य मत प्रदान गर्दै आइरहेका छन्। त्यसकारण, भोलि हुने वार्तामा भारत सरकारले सकारात्मक पहल गर्ने विश्वास गोरामुमोले व्यक्त गरेको छ। यस क्रममा गोरामुमोले प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह तथा सांसद राजु बिष्टलाई वार्ता पहलका लागि आभार व्यक्त गरेको छ। पार्टीको भनाइ अनुसार, ‘‘यो वार्ता ऐतिहासिक महत्वको छ, जसबाट गोर्खाहरूको राजनीतिक भविष्य निर्धारण हुनेछ। भारत सरकारले यसलाई गम्भीरतापूर्वक लिएर स्थायी समाधानको मार्ग प्रशस्त गर्नुपर्छ।’’
गोरामुमोको यो पहललाई खर्साङबासीले स्वागत गर्दै गोर्खा समुदायको हितमा यो अभियान निर्णायक बन्ने विश्वास व्यक्त गरेका छन्।