इनरुवा: नेपाल पत्रकार महासंघ सुनसरी शाखाले जिल्ला प्रशासन कार्यालय मार्फत गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ। मंगलबार गृहमन्त्री, गृह मन्त्रालय, सिंहदरबार काठमाडौंलाई सम्बोधन गर्दै सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र मार्फत ज्ञापनपत्र बुझाएको हो। महासंघका पदाधिकारी तथा सुनसरीका पत्रकारहरुले काठमाडौंमा भएको पत्रकार हत्याको घटनाको दोषीलाई कार्वाहीको माग सहित ध्यानाकर्षण गरेको छ। ज्ञापनपत्रमा भनिएको छ,“लोकतान्त्रिक शासन प्रणाली अनुसार सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा छ भन्ने विश्वास व्यक्त गर्दछौं। तथापि पछिल्लो समय वारम्बार पत्रकारिताको पेसागत अधिकारमाथि भएका हमलाले नेपाल पत्रकार महासंघ सुनसरीलाई गम्भीर बनाएको छ। प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि धावा बोल्ने कुत्सीत मनसायले भएका पछिल्ला गतिविधिप्रति महासंघ खेद व्यक्त गर्दछ। शान्तिपूर्ण आन्दोलनको नाममा अराजक गतिविधिलाई प्रशय दिइरहेको समूहले सञ्चार गृहमा तोडफोड गर्ने देखि पत्रकारमाथि आक्रमण भएको विषयमा गृह मन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छौं।”
पत्रकारहरुले चैत १५ गते शुक्रवार काठमाडौं आन्दोलनको क्रममा अन्नपूर्ण मिडिया ग्रुपको भवनमा तोडफोड, हिमालयन टेलिभिजनको सवारी साधन तोडफोड र कान्तिपुर टेलिभिजनको भवनमा डुङ्गामुढा हान्ने गतिविधिको महासंघ घोर भत्र्सना गर्दै दोषी माथि कार्वाहीको माग गरेका छन् । प्रेस तथा अभिव्यत्ती स्वतन्त्रता, मानवअधिकार तथा लोकतन्त्रको विरुद्धमा भएका यस्ता गतिविधिको नियन्त्रण र कडा कारबाही हुनुपर्ने महासंघको माग रहेको छ। आन्दोलनको नाममा सञ्चारकर्मीको हत्या गर्ने, प्रेसलाई आतंकित र त्रसित बनाउने गलत गतिविधिलाई स्विकार गर्न नसकिने महासंघको भनाइ छ। विधिको शासनको पालना गर्न तयार भएको पत्रकारिता क्षेत्रमाथि भएको आक्रमण निन्दनीय रहेको भनिएको छ। राजसंस्था पुनस्र्थापनाको माग राख्दै भएको आन्दोलनमा सहभागी अराजक समूहले समाचार सङ्कलनको क्रममा सञ्चारकर्मीलाई जलाएर हत्या भएको विषयले महासंघलाई थप गम्भीर बनाएको जनाएको छ। समाचारको लागि भिडियो खिचिरहेका एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको हत्याले हामी मर्माहत भएको उल्लेख गरेको छ। पत्रकार सुरेश रजकलाई हत्यागर्ने समूह वा व्यक्तिको खोजी गरी कारबाहीको दायरामा ल्याउन गृहमन्त्री समक्ष जोडदार माग गर्दछौं ज्ञापनपत्रमा भनिएको छ। यस विषयमा ठोस अनुसन्धान भई न्याय पाउने विश्वास व्यक्तगर्दै प्रमुख जिल्ला अधिकारी मार्फत गृह मन्त्रालयको ध्यानाकर्षण गराउएको पत्रकार चेतन धमलाले बताउनुभयो। यस अमानवीय घटनाको भत्र्सना गर्दै गम्भीर अनुसन्धान मार्फत दोषीमाथि कानुनी कारवाही गर्न जोडदार माग गर्दै ध्यानाकर्षण सहितको ज्ञापनपत्र बुझाएको महासंघका सुनसरी सचिव विनय बार्हकोटीले जानकारी दिनुभयो।