गान्तोक: सोरेङ जिल्लाअन्तर्गत पिपलेमा रहेको दोस्रो इन्डियान रिजर्ब बटालियनले १८औं स्थापना दिवस भव्यरूपमा पालन गऱ्यो। सिक्किमले राज्य प्राप्तीको ५०औं वर्षगाँठको अवसर पारेर आयोजित कार्यक्रममा मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथि रहेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले दोस्रो आइआरबी बटालियनले राज्यमा कानून-व्यवस्था कायम राख्न पुऱ्याएको अटुट समर्पण र प्रशंसनीय सेवाको लागि बधाई दिए। उनले सार्वजनिक सुरक्षाप्रति उनीहरूको अथक प्रतिबद्धताको प्रशंसा गर्दै राज्यको प्रगतिमा महत्त्वपूर्ण योगदानको सम्मान जनाए। यसका साथै, मुख्यमन्त्रीले सिक्किम पुलिसलाई सिक्किमको ५०औं स्थापनाको उत्सव मनाउन एक भव्य कार्यक्रम आयोजना गर्न आग्रह गरे। उक्त कार्यक्रममा सबै सरोकारवालाहरूको सहभागिता रहनुपर्ने उनको सुझाउ रहेको छ।
मुख्यमन्त्री तामाङले पुलिस बलको उत्थान गर्ने उद्देश्यले राज्य सरकारले धेरैवटा कल्याणकारी योजना लागु गरेको बताए। यसै क्रममा बोल्दै उनले पुलिसकर्मीहरूको बालबच्चालाई गुणस्तरीय शिक्षा सुनिश्चत गर्ने बाल शिक्षा भत्ता बारे उल्लेख गरे। साक्षरता दर तथ्याङ्कलाई उद्धृत गर्दै, उनले जिल्लाभरि साक्षरता स्तर सुधार गर्न थप प्रगतिको आवश्यकतामा जोर दिए।
यसरी नै कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा पुलिस महानिदेशक (डीजीपी) अक्षय सचदेवाले बटालियनको कर्तव्य, अनुशासन र सेवाप्रतिको समर्पणको प्रशंसा गरे। उनले कानून व्यवस्था कायम राख्न, विपद् प्रतिक्रिया र अपराधविरूद्ध अभियानमा उनीहरूको महत्वपूर्ण योगदान रहेको बताए।

यस विशेष अवसरमा विविध कार्यक्रम जस्तै ओपन फुटबल टुर्नामेन्ट, सर्वधर्म भजन, साइलेन्ट ड्रील, एन्टी टेरर अपरेशन ड्रील, सिक्किम पुलिस ब्याण्डद्वारा ब्याण्ड डिसप्ले र खुकुरी नृत्य रहेको छ।