सोरेङ: सोरेङ जिल्लाको दोदक माध्यामिक विद्यालयको कौस्तुभ जयन्ती कार्यक्रमको आज समापन भयो। समापन कार्यक्रममा मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथि रहेका थिए। उल्लेखनीय छ, १९४९ मा उक्त विद्यालयको स्थापना भएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्रीले ७५ वर्ष पूरा गरेकोमा दोदक माध्यामिक विद्यालयका शिक्षक-शिक्षिका अनि विद्यार्थीहरूलाई बधाई दिए। यसको साथै उनले आफ्नो सम्बोधनको क्रममा यस विद्यालयका संस्थापक सदस्यहरूलाई सम्झना गर्दै धन्यवाद पनि दिए। उनीहरूको दूरदर्शी पहलमा स्थापित विद्यावयले २१औं शताब्दीमा पनि क्षेत्रमा शिक्षाको क्षेत्रमा योगदान दिइरहेको उनले बताए।
सोरेङ एक आकांक्षी जिल्ला भएकोले यहाँ राज्य सरकारबाट धेरै धनराशि आवन्टित हुने गरेको तथा धेरै विकासका कामहरू भइरहेको मुख्यमन्त्री तामाङले आफ्नो सम्बोधनमा बताए। जनताले कुनै पनि काम गर्न चाहेको खण्डमा स्थानीय विधायकहरूको सिफारिश लिनुपर्ने निर्देश दिँदै पाँच तले भवन हुनेहरूलाई सिक्किम गरीब आवास योजना प्रदान नगर्ने उनले बताए। गत वर्ष २०२४ को चुनाउमा जनताको सेवाको निम्ति सिक्किम क्रान्तिकारी मोर्चा पार्टीलाई सत्तामा पुऱ्याएको तर अहिले मैदानदेखि बाहिर भएकाहरूले जनताको निम्ति चिन्ता व्यक्त गरेकोमा उनले आपत्ति जनाए। जनता माझमा जान नसक्ने नेताहरू प्रत्येक आइतबार समाजिक सञ्जालमा कराउने गरेको उनले बताए। उनको इशारा सिटिजन एक्शन पार्टी, गणेश कुमार राई तिर थियो। उनले राईको नाम नलिकन सक्छ भने एसकेएम पार्टीले जस्तै जनतामा जाने चुनौती दिएका छन्।
एसकेएम सरकारले गत वर्ष सम्पन्न भएको चुनाउमा पार्टीले जनतालाई दिएको बचन पुरा गरेको मुख्यमन्त्रीले आफ्नो सम्बोधनमा दावी गरेका छन्।