दार्जिलिङ: भाजपासित चुनाव गठबन्धनमा रहेका क्षेत्रीय राजनीतिक दलहरूसँग मंगलबार १ अप्रेल दिल्लीको नर्थ ब्लकमा दार्जीलिङका सांसद राजु बिष्टले सर्वदलीय बैठक बोलाएको जानकारी गोजमुमो केन्द्रीय महासचिव रोशन गिरीले दिएका छन्। बैठकमा गोजमुमो, गोरामुमो सुमेटी मुक्ति मोर्चा गोरानिमो आदि दलहरुलाई बोलाइएको छ। ज्ञात रहोस् केन्द्रीय गृह मन्त्रालयको आयोजनामा २ अप्रेल दिल्लीमा वार्ता हुन गइरहेको छ। २ अप्रेलमा हुने वार्तामा सर्वसमितिले के कुरा राख्ने? विषयमा १ अप्रिलमा हुने सर्वदलीय बैठकमा तय गरिने बताउँदै गिरीले हाम्रो पिपीएस अर्थात् स्थायी राजनीतिक समाधान भनेको नै गोर्खाल्यान्ड हो भनी बताए। उनले भने गत २०१७-को आन्दोलन अवधि त्यसताकका केन्द्रीय गृहमन्त्री राजनाथ सिंहले १५ दिनभित्रमा वार्ता बोलाउने भनेका थिए पछि गएर उक्त वार्ता ५ अक्टोबर २०१८ मा भयो। त्यसताकका हाम्रा दिवंगत पार्टी कार्यकारी अध्यक्ष डा: लोपसाङ लामाको नेतृत्वमा एउटा प्रतिनिधि टोली दिल्ली गएको थियो। त्यसपछि अर्को वार्ता २०२१ मा भयो तर त्यतिबेला हामीले सहभागिता जनाएनौँ। पछिबाट १२ सेप्टेम्बर २०२४ मा केन्द्रीय गृहमन्त्री अमित शाहलाई भेटेका र उनीसित दार्जिलिङ पहाड लगायत तराई डुवर्सको समस्याबारे धेरै लामो चर्चा परिचर्चा गरिएको बताउँदै रोशन गिरीले भने त्यतिबेला भाजपाका दार्जिलिङका सांसद राजु बिष्ट पनि थिए, सोही समय हामीलाई वार्तामा बोलाउँछौ र तपाईँहरू गएर स्टेकहोल्डरहरूसित कुरा गर्नुहोस् पिपिएस अर्थात् स्थायी राजनीतिक समाधानको निम्ति के लाभदायक हुन्छ भनेर गृहमन्त्रीले हामीलाई भनेका थिए। बोडोल्यान्ड टेरिटोरियल काउन्सिल सबैभन्दा शक्तिशाली काउन्सिल हो, त्यो लाइन हामीलाई त्यसताकका गृहमन्त्रीले दिएका थिए। त्यो मोडलमा काम गर्न सक्छ कि सक्दैन स्टेकहोल्डरहरूसित कुरा गर्नुहोस् भनी गृहमन्त्रीले भनेपछि यो कुरा हामीले भाजपा गठबन्धन दलहरूसित कुरा गर्यौ तर भाजपासित कुरा गर्न सकेनौँ तथापि सांसद राजु बिष्ट त्यहाँ थिए। तिनले अझ भने आउँदो दुई अप्रिलमा जुन वार्ता हुँदैछ त्यसलाई दुइपक्षीय पनि भन्न सक्दिन त्रिपक्षीय पनि भन्न सक्दिन। तर यसलाई राजनीतिक स्तरको वार्ता भन्न सक्छौ जुन वार्ताले गोर्खा, आदिवासी, राजवंशीहरूको समस्या समाधानको निम्ति एउटा निर्दिष्ट बाटो बनाउँछ। यही वार्तामा केही भइहाल्छ भन्ने त भन्न सक्दिन तर पछिबाट हुने वार्ताहरुमा एउटा बाटो बनिन्छ भन्ने आफूलाई विश्वास लागेको रोशन गिरीले बताए।