गान्तोक: जोएल गुरूङले राज्यका ग्वालाहरूले झेल्न परिरहेका समस्याहरूतिर सम्बन्धित निकायको ध्यान आकर्षित गराउॅंदा आफुहरू विरूद्ध लिगल नोटिस जारी गरिएको बताएका छन्। सम्बन्धित निकायहरूले समस्या समाधान गर्न पहल गर्नुको साटो यसरी लिगल नोटिस पठाएर डर देखाउन बन्द गरून् भनी उनले बताए। आफुहरू राज्यका ग्लावाहरूको पक्षमा मर्न, जेल जान र कोर्ट धाउन तयार रहेको पनि उनले बताएका छन्। उल्लेख्य, केही दिनअघि जोएल गुरूङ र उनका साथीहरूले एक पत्रकार सम्मेलन आयोजन गरेर राज्यका ग्वालाहरूले झेल्न परिरहेका समस्याहरूमाथि प्रकाश पार्दै सिक्किम मिल्क यूनियन विरूद्ध केही आरोपहरू लगाएका थिए। यस सम्बन्धमा उनीहरू विरूद्ध लिगल नोटिस जारी गरिएको छ।
जोएल गुरूङले लिगल नोटिस पठाएर डर नदेखाउन चुनौती दिए। उनले उक्त लिगल नोटिसको जवाफ दिने छैनौं भन्दै सिक्किममा १४ हजार ग्वालाहरूको निम्ति आफुहरू मर्न, जेल जान र कोर्ट धाउन तयार रहेको बताए। उनले लिगल नोटिसमा आफुहरूलाई १५ दिनको समय दिइएको जानकारी गराउॅंदै भोलिदेखि नै कारबाही गर्दा हुन्छ भनी बताए। उनले राज्यका ग्वालाहरूको पक्षमा उठाइएका विषयहरूलाई राजनीतिक चश्माले नहेरिदिने अनुरोध गरिएको, तर राजनीतिक चश्माले हेरिदिएको गुनासो पोखे। उनले विशेषगरि कृषि मन्त्रीले गरेका टिप्पणीप्रति कड़ा प्रतिक्रिया जनाए। उनले हामी पनि सिक्किमका युवा हौं भन्दै मन्त्रीले ग्वाला होइनन्, नकारात्मक शक्ति हुन् भनी टिप्पणी गरेकोमा असन्तुष्टि व्यक्त गरे। मन्त्रीको यस्तो बयानमा आफुहरूलाई निराश बनाएको उनले बताए।