गान्तोक: सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको भ्रातृ सङ्गठन किसान मोर्चा र पोल्ट्री ग्रोवर्स एसोसिएसन अफ सिक्किमको संयुक्त आयोजनामा आज रम्फू माइनिङको इको पेराडाइजमा पोल्ट्री किसान सभा सम्पन्न भयो। सभामा विधायक एवं सल्लाहकार लोकनाथ शर्मा मुख्य अतिथिका रूपमा उपस्थित थिए। सभामा पोल्ट्री व्यवसायको वर्तमान स्थिति, सम्भावना, चुनौती तथा सिक्किम सरकारद्वारा कृषकहरूको हितमा ल्याइएका नीतिहरूको विषयमा व्यापक छलफल गरिएको थियो। कार्यक्रममा सहभागी पोल्ट्री किसानहरूले आ-आफ्नो समस्या तथा सुझावहरू पनि राखे।
कार्यक्रमलाई सम्बोधन गर्दै विधायक शर्माले पोल्ट्री व्यवसायलाई थप सबल बनाउने सरकारको नीति तथा सरकारी सहयोगबारे विस्तृत जानकारी दिए। यसका साथै उनले सिक्किम सरकार किसानमैत्री रहेको उल्लेख गर्दै पोल्ट्री व्यवसायीहरूलाई आर्थिक अनुदान प्रदान गर्नको साथै बजार व्यवस्थापन जस्ता विषयमा आवश्यक पहल गरिने प्रतिबद्धता व्यक्त गरे।
आज सभाले सिक्किमको पोल्ट्री व्यवसायलाई प्रवर्द्धन गर्दै किसानहरूको हितमा नवीन योजना तथा रणनीति निर्माण गर्न महत्त्वपूर्ण योगदान पुऱ्याउने विधायक शर्माले विश्वास व्यक्त गरेका छन्।