सोनादा: सोनादा उच्चत्तर माध्यमिक विद्यालयको स्वर्ण जयन्तीको अवसरमा आयोजना गरिने विभिन्न कार्यक्रमहरुका लागि विद्यालयको भूतपूर्व विद्यार्थीहरुद्वारा विद्यालय परिसर रंग पचेरा गरेका छन्। आफूले विद्यार्जन गरेको विद्यालयप्रति सकारात्मक भावना राख्नु मात्र होइन सधैं माया गरेर विद्यालयको चौतर्फी विकासमा टेवा पुरयाउनु नै महानता हो। विद्यार्थी छँदा गरेका तिता मिठा सम्झानाहरू, विद्यालयको प्राङ्गणमा खेले दौडेको, कक्षा कोठामा हल्ला गरेको, कति शिक्षकहरूबाट माया र पिटाइ पाएको, विद्यालयको वार्षिकोत्सवमा अगौटे भएर कार्यक्रम गरेको विद्यालय सकेपछि आफ्नो निजी जीवन जिउनुको क्रममा अझ मीठो हुन्छ। यही विद्यालयप्रतिको आदर, प्रेम र रहे नरहेका गुरूहरूको सम्मान हो आफ्नो सकारात्मक विचार। सोनादा उच्चत्तर माद्यामिक विद्यालयका पूर्व विद्यार्थी संगठनले आफ्नो विद्यालयप्रति देखाएको यही भावना नै उच्चतम छन्। सन् १९७५ मा स्थापना भएको सोनादा उच्चत्तर माध्यमिक विद्यालयले आफ्नो स्थापनाको ५०औं वर्ष पूरा गरेकोमा विद्यालय पक्षले स्वर्ण जयन्ती मनाउने भएको छ। विद्यालयको स्वर्ण जयन्ती अन्तर्गत विभिन्न कार्यक्रमहरु आयोजना गरिने घोषणासँगै कार्यक्रमको उदघाटन गत २५ मार्चको दिन गरिएको छ। स्वर्ण जयन्तीको यस पुनित अवसरमा सोनादा भूतपूर्व विद्यार्थी संगठनले विद्यालयको सम्पूर्ण भागमा रङ्ग पचेरा गरेका छन् । यद्यपि विद्यालयले रङ्ग पचेरा गर्दैन भन्ने होइन तर केही वर्षदेखि रङ्ग पचेरा हुन नपाएको यस विद्यालयले पूर्व विद्यार्थी संगठनबाट नयाँ रूप फेर्न सकेका छन्। आफू शिक्षा ग्रहण गरेकोे विद्यालयप्रति पूर्व विद्यार्थीले सकारात्मक सोच मात्र होइन विद्यालयको भौतिक पूर्वाधारहरूमा सहयोग पुरयाउन सक्नु आउने पिँढीको निम्ति उदाहरण बन्नेछ अनि सदैव सम्झानामा रहने छ। यस महत्त्वपूर्ण कार्यको निम्ति विद्यालयका शिक्षक प्रभारी दिपेन्द्र मुखियाले सम्पूर्ण पूर्व विद्यार्थी संगठन (एलुमेनाइ) प्रति आभार प्रकट गर्दै धन्यवाद दिएका छन्।

यसको साथै भूतपूर्व विद्यार्थी संगठनको सभापति दोर्जी शेर्पाले सोनादा उच्चत्तर माध्यमिक विद्यालयको स्वर्ण जयन्ती समारोह वर्षभरि नै विभिन्न कार्यक्रमहरुका साथमा पालन गरिने भएकोले सम्पूर्ण भूतपूर्व विद्यार्थीहरुलाई पनि उपस्थित रहेर सहभागिता जनाई दिने अनुरोध गरेका छन्।