गरिबी निवारणमा सिक्किम देशमै चौथो स्थानमा: मुख्यमन्त्री

n65798735117431851035586a9ffa8568992ee0fb085276070213a54ea6f08906274c1ca06235ec31f7b393

गान्तोक: गरिबी निवारणमा सिक्किम देशको चौथो स्थानमा रहेको मुख्यमन्त्री प्रेमसिंह तामाङले बताएका छन्। उनले सिक्किममा गरिबीको दर केवल २.६ प्रतिशत रहेको र यो आंकडा दिनदिनै घट्दै गएको पनि बताएका छन्।
मुख्यमन्त्री तामाङ चार दिवसीय बजेट अधिवेशनको आज अन्तिम दिन सदनमा धन्यवाद ज्ञापनको क्रममा बोल्दै थिए।
मुख्यमन्त्रीले ग्रामीण क्षेत्रलाई उच्च प्राथमिकता दिॅंदै सरकारले प्रगति र समृद्धिको मार्गमा लैजान काम भइरहेको बताए। आफ्नो सम्बोधनमा उनले विशेष रूपमा मुख्यमन्त्री विवेकाधीन कोष र मुख्यमन्त्री शिक्षा सहायता योजना अन्तर्गत भइरहेका कार्यहरूको बारेमा विस्तृत जानकारी गराएका थिए।
उनले मुख्यमन्त्री वात्सल्य योजना अन्तर्गत अहिलेसम्म राज्यका २९७ जनालाई सहायता प्रदान गरिएको र यस मध्ये ८० जनालाई सन्तान प्राप्त भएको सुखद जानकारी साझा गरे। उनले अझै पनि १७२ जना उपचाराधीन रहेको सदनमा जानकारी गराए।
उनले सिक्किम राज्यको साक्षरता दर अहिले ९० प्रतिशत रहेको जानकारी गराउॅंदै सरकारले गरीब परिवारका नानीहरूलाई मुख्यमन्त्री विवेकाधीन कोष मार्फत आर्थिक सहायता प्रदान गरेर उच्च शिक्षा हासिल गर्न मद्दत गरिरहेको बताए। उनले वर्तमानमा गरीब परिवारका आठ जनालाई सरकारले आफ्नो खर्चमा कमर्शियल पाइलटको प्रशिक्षण दिलाउने काम गरिरहेको जानकारी गराए।
यसरी नै नर बहादुर भण्डारी फेलोशिप योजना अन्तर्गत राज्यका सात जनालाई विश्वका विभिन्न प्रतिष्ठित शैक्षिक संस्थानहरूमा शिक्षा आर्जनका लागि सरकारले सहायता प्रदान गरेको उनले बताए। मुख्यमन्त्रीले यस योजना अन्तर्गत मापदण्ड पूरा नगर्ने थप ३३ जनालाई पनि सरकारले विश्वका विभिन्न प्रतिष्ठित शैक्षिक संस्थानमा शिक्षा आर्जनका लागि सहायता गरिरहेको बताए।
एमबीबीएसको निम्ति पनि राज्यका ५० जना विद्यार्थीहरूलाई सरकारले आफ्नो खर्चमा पढाउने काम गरिरहेको उनले बताए। यस अतिरिक्त, आर्थिक रूपमा कमजोर तर एसबीबीएस सीट प्राप्त गर्न सफल बन्ने विद्यार्थीहरूलाई पनि सरकारले आर्थिक सहायता प्रदान गरेको उनले बताए।
उनले सिक्किमका विभिन्न महाविद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरूलाई मासिक ५,००० रूपियॉं आर्थिक सहायता प्रदान भइरहेको बताए। तर, यो सुविधा आफ्नै जिल्लाका महाविद्यालयमा पढ्ने विद्यार्थीहरूको निम्ति भने नरहेको उनले स्पष्ट गरे।
मुख्यमन्त्रीले अहिलेसम्म मुख्यमन्त्री चिकित्सा सहायता योजना अन्तर्गत १११७८ जनालाई आर्थिक सहायता प्रदान गरिएको पनि जानकारी गराए। उनीहरूको उपचारमा ७३ करोड ८९ लाखभन्दा धेरै रकम खर्च गरिएको उनले बताए।
राज्य सरकारले विभिन्न संघ संस्थाहरूलाई पनि आर्थिक सहायता प्रदान गर्दै आइरहेको उनले बताए। यस क्रममा अहिलेसम्म २७२४ संघ संस्थालाई ७२ करोड ९९ लाखभन्दा धेरै रकम आर्थिक सहायताको रूपमा प्रदान गरिएको उनले बताए।
मुख्यमन्त्रीले आफ्नो सम्बोधनमा २०१९ मा एसकेएम सरकारमा आउॅंदा राज्यका सरकारी अस्पतालहरूमा एउटै पनि डाइलिसिस केन्द्र थिएन भनी बताए। तर, अहिले राज्यका सबै जिल्ला अस्पतालहरूमा डाइलिसिस केन्द्र रहेको बताउॅंदै अब सरकारले राज्यमा किडनी ट्रान्सप्लान्टको सुविधाको निम्ति यस बजेटमा प्रावधान राखेको जानकारी थप गराए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement