गान्तोक: सिक्किम राज्यको पुरानो जुलुक सिल्क रूटलाई इण्डिया टुडे टुरिज्म सर्भे एण्ड अवार्ड्स २०२५ ले प्रतिष्ठित “भारतको सबैभन्दा प्रतिष्ठित पुरस्कार” प्रदान गरेको छ। यो मान्यताले यस ऐतिहासिक मार्गको अतुलनीय सुन्दरतालाई उजागर गर्दछ, जुन यसको मनमोहक परिदृश्य, घुमाउरो सडकहरू र पूर्वी हिमालयको मनोरम दृश्यहरूका लागि परिचित छ।
आज देशको राजधानी नयाँ दिल्लीस्थित एक होटलमा आयोजित कार्यक्रममा सिक्किमको पुरानो सिल्क रूटलाई उक्त पुरस्कार प्रदान गरिएको हो, जसले देशभरिका उत्कृष्ट गन्तव्य र अनुभवलाई सम्मान गर्न यात्रा र पर्यटन उद्योगसँग सम्वन्धित मानिसहरूलाई एक मञ्चमा ल्याउने गर्दछ। उक्त कार्यक्रममा भारत सरकारका पर्यटन तथा संस्कृति मन्त्रालयका केन्द्रीय मन्त्री गजेन्द्र सिंह शेखावतले सिक्किम सरकारको पर्यटन तथा नागरिक उड्डयन मन्त्री छिरिङ टी. भोटियालाई पुरस्कार प्रदान गरे। यस अवसरमा सिक्किम पर्यटन विभागका सचिव सीएस राव पनि मन्त्री भोटियासँग सामेल रहेका थिए।
१०,१०० फिटको उचाइमा अवस्थित पर्यटकीय केन्द्र जुलुक, पौराणिक सिल्क रुटको एक हिस्सा हो, जसले एक समय एशियाभरिका व्यापारीहरूलाई जोडने काम गरेको थियो।