बिजनबारी: गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापाद्वारा पुल बिजनबारी क्षेत्रमा विभिन्न सडक निर्माण अनि मरमत्ति कार्यको शिलान्यास गरिएको छ। रेलिङ कैजेले समष्टि अन्तर्गत रेलिङ खेल मैदानमा आयोजित एक कार्यक्रममा जीटीए मुख्य कार्यपाल अनित थापाले विभिन्न योजनाहरुको शिलान्यास गरे। आज शिलान्यास गरिएको सडक योजनाहरुलाई तीन वर्गमा विभाजन गरेर हेरिएको छ। एक, नयाँ सडक निर्माण अन्तर्गत १०१-बिजनबारीदेखि लोधोमा हुँदै कैंजलेसम्मको १७.४२० किलोमिटर लामो सडक निर्माण अनि मेला ७-बिजनबारीदेखि बिहिबारे हुँदै मानेभञ्ज्याङसम्मको ११.१३५ किलोमिटर लामो सडक निर्माण रहेको छ। दुई, वर्षाले क्षति पुर्याइएको सडकहरूको मर्मती कार्यहरूमा कैजले कोल्बोङ सडक, बिजनबारीदेखि धजिया हुँदै रेलिङ सडक, कैजले देखि लोधोमा सडक, कैजले रेलिङ सडक, माथिल्लो लिङ्गटेनदेखि तल्लो लिङ्गटेन सडक, आरुबोटे सडक अनि बिजनबारीदेखि पाखागाउँ सडक रहेको छ।
त्यसरी नै निर्माण कार्य पूर्ण भएर पाँच वर्ष नाघी सकेका सडकहरूको मर्मत कार्यमा ४.३० किलोमिटर लामो कैंजले मानेभञ्ज्याङ सडक, ६.१३ किलोमिटर लामो कोल्बोङ हुँदै कैंजले गोक सडक अनि ३.१३ किलोमिटर लामो कैंजले रेलिंग सडक पाखागाउँसम्मको सडक रहेको छ। कार्यक्रममा मुख्य अतिथिको रूपमा सहभागी हुन पुगेका अनित थापालाई बाइक ऱ्यालीले स्वागत गर्यो। नेपाली गीतको धुन बजाउँदै विद्या ज्योति एकाडेमीको ब्याण्डले उनलाई कार्यक्रम स्थलसम्म पुर्याए। क्षेत्रीय सभासद सतिश पोख्रेलले उनलाई स्वागत जनाएका थिए।

सभासदहरु सतिश पोख्रेल, नोर्देन् शेर्पा, भुपेन्द्र छेत्री, उदय देवान, इन्जिनियर पूर्णिमा छेत्री अनि कार्यकारी निर्देशक तोपदेन भुटियाको विशेष उपस्थितिमा शिलान्यास सम्पन्न भयो।
कार्यक्रममा सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो।