खरसाङ: तितस लेप्चा स्मृति पुस्तकालय सञ्चालन समितिको आयोजना एवम् लेप्चा परिवारको प्रायोजनामा पाचौँ वर्षको तितस लेप्चा स्मृति शैक्षिक पुरस्कार सिटोङ तीन ग्राम पञ्चायतका छात्र अभय तामाङलाई प्रदान गरियो। सिटोङका पर्यटन व्यवसायी स्व तितस लेप्चाको स्मृतिमा रहेको शैक्षिक पुरस्कार सिटोङ -लाट समष्टि स्तरमा कक्षा दस स्तरको माध्यमिक बोर्ड परीक्षामा शैक्षिक सत्रमा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीहरूबाट प्राप्त प्रविष्टिको आधारमा प्रदान गरिने यस शैक्षिक पुरस्कारमा नगद राशि बीस हजार एवम् स्मृति चिह्न प्रदान गरिन्छ। विद्यार्थी नानीहरूलाई प्रोत्साहन प्रदान गर्न हेतु स्वर्गीय तितस लेप्चाको स्मृतिमा गठन गरिएको तितस लेप्चा स्मृति पुस्तकालय सञ्चालन समितिको आयोजनामा यस वर्षको प्राप्त परीक्षाफलमध्ये सर्वोत्कृष्ट विद्यार्थी (शैक्षिक सत्र २०२३-२४) अभय तामाङलाई शुक्रवार लोवर सिटोङस्थित डायरी गाउँ गोलघरमा आयोजित पुरस्कार अलङ्करण कार्यक्रममा पुरस्कृत गरिएको छ। कार्यक्रमको अध्यक्ष बीएम राई, तितस लेप्चाका माता-पिता दयाछिरिङ लेप्चा-चेमित लेप्चा, कृष्ण बहादुर आचार्य, शिक्षक जवाहरलाल खवास, सन्ध्या आचार्य, बिनीता छेत्री, योङमित लेप्चा आदिको बाहुलीबाट नगद राशी, दोसल्ला, खदा, अभ्यर्थना पत्र आदि प्रदान गरियो।

सिटोङ ट्राइबल माध्यमिक शिक्षा केन्द्रका प्रमुख शिक्षा सम्प्रसारक बीएम राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सबैभन्दा पहिले भर्खरै दिवङ्गत भएका डायरी गाउँ प्राथमिक पाठशालाका पूर्व प्रधान अध्यापक डोनाल्ड सादाको स्मरण गरी मौन धारण गरियो।
कार्यक्रममा वक्ताहरू क्रमैले पुस्तकालय सञ्चालन समिति अध्यक्ष बिनीता छेत्री, लाटपञ्चर उच्चतर माध्यमिक विद्यालयका शिक्षक जवाहरलाल खवास, पुस्तकालय सञ्चालन समिति संरक्षक युनस लेप्चा, सिटोङ एक ग्राम पञ्चायत समिति सदस्य योङमित लेप्चा, पुस्तकालय सञ्चालन समिति संरक्षक प्रणय छेत्री, कार्यक्रम अध्यक्ष, पुरस्कृत विद्यार्थीका पिता आदिले कार्यक्रमको औचित्य तथा तितस लेप्चाको विचार, सामाजिक योगदान अनि कार्यहरूमाथि प्रकाश पारेका थिए। कार्यक्रममा शुरुको प्रार्थना रेभरेन्ड पास्टर पीडी भोङमूले राखेका थिए। कार्यक्रमको सञ्चालन शिक्षक रामकुमार छेत्रीले गरेका थिए। टाढा-नजीकबाट गन्यमान्य व्यक्ति-व्यक्तित्व, आफन्त, मण्डली, सिटोङ ट्राइबल माध्यमिक शिक्षा केन्द्र, सिटोङ एकका विद्यार्थी नानीहरूको उपस्थिति रहेको कार्यक्रममा अन्तको प्रार्थना पास्टर अनिल राईले राखेका थिए। कार्यक्रमलाई प्रत्यक्ष-परोक्ष सहयोग पुऱ्याउने सबैमा समितिले हार्दिक आभार व्यक्त गरेको बिनीता छेत्रीले जनाएकी छन्।