सोनादा; बन्सल कम्पनीको लीज खारेजको मागमा भागोप्रमो श्रमिक संगठनद्वारा गरिएको श्रमिक आन्दोलन अहिलेलाई स्थगित गरिएको छ। कतिपय शर्त र परिस्थितिअनुसार हाललाई आन्दोलन फिर्ता लिएकोबारे सभासद अनोश थापाले चियाश्रमिकहरुलाई जानकारी दिए। बन्सल कम्पनी अधीनस्थ अप्पर रङमुक अन्तर्गत नयाँकमानको गन्ती डाँडामा आज विहान श्रमिक संगठनद्वारा गेट सभा आयोजन गरियो। सभालाई सम्बोधन गर्दै सभासद अनोश थापाले बन्सल कम्पनी अधीनस्थ बगानहरूको अवस्था सोचनीय भएको कारण आन्दोलनमा जान बाध्य बनेको बताए। उनले भने, हामी चाहन्छौ कि यो कम्पनीको लीज खारेज होस्। यी बगानहरू किन्नु धेरै राम्रो कम्पनीहरू इच्छुक भए तापनि लीजको कारण यो सम्भव बन्न सकेको छैन।लीजको शर्त अनि परिस्थितिको कारणले लीज प्रक्रियामा समय लाग्नेछ। हाम्रो आन्दोलनको कारणले नै अब बन्सललाई किनारा लगाएर जर्मन कम्पनी रेम्बर्टले कमान चलाउने भएको छ। उनले अघि भने, बन्सल त कमिसन खाने मात्र रहेछ।अब रेम्बर्टले अरू नै इन्भेस्टरहरू लिएर आफै चलाउने भएको छ। आज दुईवटा खर्च र एउटा तलब हालिदिने भएको छ।अनि १० दिन भित्रमा जर्मनीबाट आएर रेम्बर्टले जीटीए मुख्य कार्यपाल अनित थापा लगायत ट्रेड युनियनलाई भेटने भएको छ। यदि कम्पनीलाई अवश्यकता परे जीटीएले सहयोग गर्नेछ। यही कारण अहिले हाम्रो आन्दोलन स्थागित भएको छ।