खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको स्थापना दिवस आज खरसाङमा केन्द्रीय स्तरमा पालन गरिएको छ। मन्टिभियट खेल मैदानमा सम्पन्न स्थापना दिवस कार्यक्रम भागोप्रमो केन्द्रीय अध्यक्ष अनित थापाको अध्यक्षता र कालेबुङमा पूर्व विधायक एंव वर्तमान प्राथमिक स्कूल बोर्डको चेयरम्यान डा हर्कबहादुर छेत्रीको प्रमुख अातिथ्यमा सम्पन्न भएको थियो। युवा शक्ति केन्द्रीय समितिको प्रवक्ता अनित खातीले सञ्चालन गरेको कार्यक्रममा स्वागत सम्भाषण भागोप्रमो केन्द्रीय सांगठनिक सचिव एवं स्थापना दिवस समारोह समितिको संयोजक रतन थापाले राखेका थिए।

कार्यक्रममा भागोप्रमो पार्टीको प्रतिवेदन केन्द्रीय महासचिव अमर लामाले राखेका थिए। कार्यक्रममा प्रमुख अतिथि डा हर्कबहादुर छेत्री, भागोप्रमो केन्द्रीय अध्यक्ष अनित थापा, कालेबुङका विधायक एंव भागोप्रमो केन्द्रीय उपाध्यक्ष रुदेन सादा लेप्चा आदिले पनि वक्तव्य राखेका थिए। कार्यक्रममा दार्जिलिङको सांगीतिक टोली कार्निभलद्वारा वरिष्ठ संगीतकार चन्दन लम्जेलको अगुवाईमा सांगीतिक प्रस्तुति पनि दिइएको थियो।

यसै स्थापना दिवस कार्यक्रममा भागोप्रमो पार्टीको स्थापनादेखि पार्टीमा खट्ने वरिष्ठ सदस्य सदस्याहरूलाई सम्मान पनि गरिएको थियो। यस अवसरमा खरसाङ महकुमा अन्तर्गत पर्ने विभिन्न समष्टिहरूका १७ जना पार्टीको कार्यकर्ताहरूलाई सम्मान जनाइएको छ। सम्मानस्वरूप खदार्पणसहित शल ओढ़ाएर सम्बर्ध्दना पत्र प्रदान गरी सम्बर्ध्दना जनाइएको थियो। स्थापना दिवसको अवसरमा पार्टी अध्यक्ष अनित थापा आफै खुशीसाथ आफ्ना समर्थकहरूसित नाँचेका थिए।