विधानसभामा भावुक बने मुख्यमन्त्री मुख्यमन्त्री प्रेमसिंह तामाङ

IMG-20250327-WA0343

गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङ आज विधानसभामा भावुक बने। उनको आँखामा आँशु छल्कियो। बोल्दा बोल्दै उनी भक्कानिए। जसोतसो आफैलाई सम्हाल्दै सम्बोधनलाई निरन्तरता दिए। उनी चालू बजेट अधिवेशनको तेस्रो दिन गरीब नानीहरूलाई सरकारले शिक्षार्जनमा सहयोग गरेको प्रसङ्गमा बोल्दै थिए।
आफ्नो सरकारले असङ्ख्य गरीब परिवारका नानीहरूलाई शिक्षार्जनमा सहयोग गरेको सदनलाई जानकारी गराउने क्रममा मुख्यमन्त्री तामाङले आफ्नो परिवारको कमजोर आर्थिक स्थितिको कारण चाहेर पनि कलेजस्तरदेखि अघि पढ़ाई गर्न नसकेको बताए। यसो भन्दैगर्दा उनी भावुक बनेका हुन्।
आँखामा छल्किएको आँशुलाई जसोतसो रोक्दै परिवारको कमजोर आर्थिक स्थितिको कारण आफूले चाहेर पनि कलेजदेखि माथिको उच्च शिक्षा आर्जन गर्न नसकेको उनले सदनमा आफ्नो व्यथा पोखे। आर्थिक स्थिति राम्रो नभएको अनि अन्य सन्तानलाई पनि पढ़ाउनुपर्ने बाबुको वाध्यताको कारण आफूले कलेज स्तरदेखि अघि पढ़ने इच्छालाई मारेर शिक्षण पेशालाई अप्नाउनु परेको मुख्यमन्त्रीले बताए। त्यसैले कुनै पनि गरीबका नानी आर्थिक स्थितिको कारण पढ़न नपाएको देख्दा आफूलाई नराम्रो लाग्ने गरेको र जसरी भए पनि ती नानीहरूलाई सहयोग गर्ने गरेको उनले थप बताए। केही दिन अघि एउटा जनभेट कार्यक्रममा एकजना छात्राले पढ़न नपाएको खण्डमा आत्महत्या गर्छु भनेको कुरालाई उल्लेख गर्दै मुख्यमन्त्रीले भने, अब कुनै पनि सिक्किमका नानीहरूले पढ़न नपाएर आत्महत्या गर्नुपर्दैन। सिक्किम सरकार अभिभावक बनेर उसलाई पढ़ाउनेछ।
उल्लेखनीय छ, राज्यको एसकेएम सरकारले विशेष गरेर मुख्यमन्त्री प्रेमसिंह तामाङको इच्छाशक्तिमा धेरैजना गरीब परिवारका नानीहरूले उच्च शिक्षा आर्जन गर्ने अवसर पाइरहेका छन्। मुख्यमन्त्री तामाङको यस पहललाई उनको आलोचकहरूले पनि प्रशंसा गर्ने गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement