गान्तोक: उत्तर जिल्ला कृषि विज्ञान र पासिङथाङ खण्ड प्रशासन केन्द्रको संयुक्त पहलमा आज प्रविधिद्वारा जैविक खेती उत्पादबारे एक प्रशिक्षण कार्यक्रम आयोजना गरियो। प्रशिक्षण कार्यक्रमको लक्ष्य सहभागी कृषकहरूलाई कृषि सम्वन्धित क्षेत्रका उन्नत प्रविधिहरूसँग जोड़नु रहेको थियो। विशेषगरि बाँझो जमिनलाई खेतीयोग्य जमिनमा रूपान्तरण गर्ने कुरामा जोड़ दिएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ वैज्ञानिक भीसन प्रधानले केभीकेले हालसम्म कार्यहरु लाभदायक बनेको उल्लेख गर्दै प्रविधिहरूबारेमा थप प्रशिक्षण दिलाउनु राम्रो कार्य रहेको बताए। उनले पावर पोइन्ट प्रेजेन्टेसनको माध्यमद्वारा विस्तृतरूपमा जानकारी गराएका थिए। सोही प्रकारले वागवाणी विभागकी अधिकारी रिञ्छेन डेन्जोङ्पाले विभागले वर्षभरि उच्च मूल्यजन्य बाली उत्पादनको लागि वाकइन टनेल प्रविधिको बारेमा पनि अवगत गराइन्। उनले प्रशिक्षार्थीहरूलाई आधुनिक कृषि अभ्यासहरूमा संरक्षित खेतीको महत्त्वकबारेमा जानकारी गराउँदै यस प्रकारको तकनिकीले कृषि उत्पादनको क्षेत्रमा लाभ पुग्ने बताए। यसका साथै विभागकी डा. हिस्से ओङमुले पशु स्वास्थ्यमा एन्टिमाइक्रोबियल प्रतिरोध न्यूनीकरण र पशुधनमा एन्टिमाइक्रोबियलको अत्यधिक प्रयोगबारे पनि बताए।