गान्तोक: पाकिम जिल्ला सामाजिक न्याय विभागको आयोजनमा आज अनुसूचित जाति र जनजाति हिंसा नियन्त्रण ऐन, १९८९ सम्बन्धी एक दिवसीय सचेतना कार्यक्रम आयोजना गरियो। यस कार्यक्रम आयोजनको मुख्य उद्देश्य अनुसूचित जाति तथा अनुसूचित जनजाति ऐनबारे जागरुकता गराउनु रहेको थियो। यसका साथै यसका प्रावधानहरुबारे आम मानिसहरूलाई सचेत गराउने कुरामा जोड़ दिइएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै पाकिम जिल्लाका अतिरिक्त जिल्लापाल रबिन सेवाले उपस्थित पञ्चायत सदस्यहरूलाई कार्यक्रमबाट प्राप्त जानकारी जनताबीच साझा गर्ने आग्रह गरे। उनले राज्यको घट्दो जनसंख्यालाई मध्यनजर राख्दै यसमा कसरी योगदान पुऱ्याउन सकिन्छ भन्ने बिचार व्यक्त गरे। उनले विगत दिनहरूमा अनुसूचित जाति र जनजातिमाथि भएको शिक्षाको अभावबारेमा पनि जानकारी गराए। यस प्रकारको हिंसा रोक्न शिक्षाको महत्वपूर्ण भूमिका रहेको अवगत गराए। सोही प्रकारले पाकिम जिल्लाका अतिरिक्त प्रहरी अधिक्षक एमएल प्रधानले हिंसा नियन्त्रण ऐन कार्यान्वयनमा पुलिस विभागको भूमिकाबारेमा विस्तृतरूपमा जानकारी गराए। समाज कल्याण विभागका उपनिर्देशक रामकुमार तामाङले समाज कल्याण विभागका विभिन्न योजनाबारेमा विस्तृतरूपमा अवगत गराए। उनले अनुसूचित जनजाति, अनुसूचित जाति, अन्य पछौटे वर्ग, अल्पसंख्यक र आर्थिक रूपमा पछि परेका विद्यार्थीहरूको निम्ति सरकारले शुरू गरेको विभिन्न योजनाबारे जानकारी गराए।