दार्जिलिङ: वैष्णवी प्रडक्सन साथै नाट्यकर्मीहरुको संयुक्त आयोजनामा आज दार्जीलिङ दिव्यवाणी भवनमा विश्व नाट्य दिवस पालन गरियो। फादर एलेक्स गुरुङको अध्यक्षतामा सम्पन्न आजको कार्यक्रममा नाट्य कर्मीहरुको व्यापक रूपमा उपस्थिति रहेको थियो। शिवानी छेत्रीद्वारा सञ्चालन गरिएको कार्यक्रममा वरिष्ट नाट्य कलाकार जीवन गुरुङ, किरण ठकुरी, मारियममित लेप्चा, बद्री खरेल, मेनुका प्रधान, ललित तिवारी, देवराज शेर्पा अनि नृत्य कलाकारहरुमा उषा गोमदेन, विमला ठटाल, शान्ता गुरुङलाई सम्मान जनाएको थियो। प्रत्येक वर्ष झैं यसपाली युवा कलाकारको रूपमा प्रभात पाख्रिनलाई समान जनायो।

भव्य रूपमा सम्पन्न विश्व नाट्य दिवसमा वैष्णवी प्रडक्सनको तर्फबाट विनय शंकरले स्वागत सम्बोधन राखेका थिए भने त्रिवेणी संगीतालयका कलाकारहरुले नृत्य अनि वैष्णवी प्रडक्सनका युवा कलाकारहरुले नाटक प्रस्तुत गरेका थिए। कार्यक्रम विषयमा पत्रकारहरुसित कुराकानी गर्दै रिना रायाले विस्तृत रुपमा जानकारी गराएकी छन्।