खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा युवा शक्तिद्वारा विभिन्न विषयमा प्रशासन र पुलिस प्रतिनिधिसित भेट गरेका छन्। युवा शक्ति खरसाङ महकुमा समितिको प्रतिनिधिहरुले खरसाङ महकुमामा युवाहरूमा बढ्दो मादक पदार्थ सेवन रोकथाम सम्बन्धमा उक्त भेटघाट गरिएको जानकारी प्राप्त भएको छ।भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका केन्द्रिय अध्यक्ष अनित थापाको निर्देशनमा युवा शक्ति खरसाङ महकुमा समितिको सभापति प्रेमेन्द्र गुरुङ, सभासद श्याम शेर्पा, टाउन कमिटी सचिव सागर थापा, शेखर थापा, केन्द्रीय समिति युवा शक्ति सदस्य सुरज थापा र युवा शक्ति टाउन कमिटीका सम्पूर्ण सदस्यहरूको उपस्थितिमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा युवा शक्तिले खरसाङ महकुमामा युवाहरूमा बढ्दो मादक पदार्थ सेवनको चिन्ताजनक स्थितिका बारेमा पुलिस प्रशासनसँग भेटघाट गरेर छलफल गरेको जानकारी प्राप्त भएको छ। खरसाङ महकुमा अन्तर्गतका युवाहरूमा मादक पदार्थ सेवनको बढ्दो प्रचलनले गहिरो चिन्ता व्यक्त गर्दै यो खतरनाक प्रवृत्तिले हाम्रो युवा पुस्ताको स्वास्थ्य, सुरक्षा, र भविष्यका साथै सम्पूर्ण समाजको कल्याणलाई गम्भीर खतरामा पारेको छ। युवाहरू मात्र मादक पदार्थको शिकार भएका छैनन्, तर खरसाङ नै अब मादक पदार्थ बिक्रीको केन्द्र बनेको छ। रेल्वे स्टेशन, बस टर्मिनल, करबीर चिया गोदाम, सुपर मार्केट, हाटबजार क्षेत्र, नयाँ बजार, नयाँ सडक जस्ता ठाउँहरू अब मादक पदार्थ बिक्रीको गतिविधिका केन्द्र बनेका छन् भनी प्रशासन समक्ष जानकारी गराएको बताइएको छ। युवाहरू साथीहरूको दबाब, जानकारीको अभाव, र नशालु पदार्थहरूको सजिलो पहुँचले गर्दा मादक पदार्थ सेवनको शिकार हुने गरेका छन्। यो समस्याले उनीहरूको शैक्षिक र व्यक्तिगत विकासमा बाधा पुर्याएको छ जसको कारण उनीहरूमा मानसिक स्वास्थ्य समस्या, लत, र अपराधिक गतिविधिहरूको लक्षणहरू बढेको छ। यस समस्याको समाधानका लागि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा युवा शक्ति, खरसाङ महकुमाले विभिन्न प्रस्तावहरू राखेको छ जसमा जागरूकता अभियान विद्यालय, कलेज र सामुदायिक केन्द्रहरूमा शैक्षिक कार्यक्रमहरू आयोजना गरी युवाहरूलाई मादक पदार्थको हानिकारक प्रभावबारे जानकारी दिने सुझाव राखिएको छ त्यसरी नै परामर्श सेवा अन्तर्गत लतबाट पीडित व्यक्तिहरूलाई सहयोग गर्न सजिलो पहुँच भएका परामर्श र पुनर्स्थापना केन्द्रहरू स्थापना गर्ने बताइएको छ भने समुदायको सहभागिता अन्तर्गत अभिभावक, शिक्षक र स्थानीय नेताहरूलाई कार्यशाला र छलफलमार्फत यस समस्यामा सक्रिय रूपमा संलग्न हुन प्रोत्साहन दिने जनाइएको छ।

यसको साथै कडा निगरानी राख्दै सामाजिक संस्थाहरू र प्रशासनसँग सहकार्य गरी मादक पदार्थको अवैध वितरण र सेवन रोक्ने भएको छ।
भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा, खरसाङ महकुमाले युवाहरूमा मादक पदार्थ सेवन रोक्न प्रशासनलाई सम्भव सहयोग पुर्याउनेछ भनी युवा शक्ति खरसाङ महकुमा समितिको तर्फबाट बताइएको छ।