गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले वित्तीय वर्ष २०२५-२६ को निम्ति १६,१९६ करोड़ रूपियॉंको बजेट पेश गरेका छन्। ११औं सिक्किम विधानसभाको द्वितीय सत्र (भाग III) को बजेट सत्र अन्तर्गत आज दोस्रो दिन मुख्यमन्त्रीले सदनमा बजेट पेश गरेका हुन्।
उक्त बजेटमाथि भोलि बिहिवार सदनमा चर्चा हुनेछ भने शुक्रवार बजेट पारित गरिने छ।
वर्ष २०१९ मा सरकारको शासन सम्हालेदेखि लगातार सातौंपल्ट वार्षिक बजेट प्रस्तुत गर्दै मुख्यमन्त्री तामाङले भने, ‘सरकारले वित्तीय वर्ष २०२५-२६ को निम्ति १६,६४७ करोड़ रूपियॉंको कुल खर्च प्रावधान गरेको छ र ४५१ करोड़ रूपियॉं बराबरको असुलीपछि शुद्ध व्यय १६,१९६ करोड़ रूपियॉं पुगेको छ। यसले कुल प्राप्ति १६,१९६ करोड़ रूपियॉं पुगेको, जसले राज्यको विकासमा वित्तीय स्रोतहरूको प्रभावकारी रूपमा उपयोग भएको सुनिश्चित हुन्छ भनी उनले आफ्नो सम्बोधनमा बताए।
उनले भने, ‘यो बजेटले हाम्रो सरकारको वित्तीय सुदृढता, दिगो विकास र हाम्रा जनताको कल्याणप्रतिको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ। यो बजेटले सिक्किमको अर्थतन्त्रलाई सुदृढ पार्ने, समावेशी वृद्धिलाई प्रवर्द्धन गर्ने र विकासको लाभ सबै नागरिकहरूमा पुग्ने सुनिश्चित गर्ने लक्ष्य राखेको छ।’
मुख्यमन्त्रीले आफ्नो सम्बोधनको क्रममा सिक्किम आज भारतको सबैभन्दा एकीकृत राज्य रहेको बताए। उनले भने, ‘देशको सबैभन्दा उच्च प्रतिव्यक्ति आय, अपेक्षाकृत धेरै उच्च वृद्धि दर, राष्ट्रिय सुरक्षा र राष्ट्रिय हित संरक्षण एवं प्रवर्द्धन, देशको सबैभन्दा शान्तिपूर्ण राज्य, प्राकृतिक स्रोत, जैवविविधता, सांस्कृतिक पारिस्थितिकीको प्रमाणित संरक्षक र सम्पूर्ण पूर्वी हिमालय क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव, अनुकूलन र न्यूनीकरणसँग सम्बन्धित मुख्य केन्द्रले सिक्किमको विविधता र गहन एकीकरणलाई उजागर गर्दछ।’
मुख्यमन्त्रीले शिक्षा, स्वास्थ्य, पर्यावरण एवं वन, विज्ञान तथा प्रविधि, पर्यटन, खेलकुद र ग्रामीण विकास क्षेत्रहरू अन्तर्गत जनताको कल्याण सम्बन्धित विभिन्न सरकारी योजनाहरूमाथि प्रकाश पारे। उनले शासन, योजना र आर्थिक वृद्धिको लागि तथ्याङ्क-सञ्चालित सिफारिसहरू प्रदान गर्न इन्स्टिच्युट फर ट्रान्सफर्मिङ सिक्किम (आईटीएस) को गठनको बारेमा पनि जानकारी गराए। आईटीएसले नीति आयोगसँगको सहकार्यलाई सुदृढ बनाउने, नीतिगत सुधारहरूको निरीक्षण गर्ने र विकसित भारत २०४७ तर्फ सिक्किमको विकासलाई मार्गदर्शन गर्ने बताए।
मुख्यमन्त्रीले १६ मई, १९७५ देखि सिक्किम एउटा सानो हिमाली राज्यबाट शान्ति, दिगो विकास र आर्थिक प्रगतिको लागि परिचित विश्वव्यापी रूपमा मान्यता प्राप्त मोडेल राज्यमा परिणत भएको बताए। उनले सिक्किमको 50औं स्थापना दिवसको उपलब्धिलाई मनाउन राज्य सरकारले वर्षव्यापी समारोहको योजना बनएको जानकारी गराए, जसको शुभारम्भ देशका प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा गरिने छ।
प्रधानमन्त्री मोदीले आफ्नो सिक्किम भ्रमणको अवसरमा ५०० बेडे भएकाे नाम्ची जिल्ला अस्पताल, स्वर्ण जयन्ती मैत्रेय मंजरी, अटल बिहारी वाजपेयीको मूर्ति, साङ्गछोइलिङमा यात्रु रोपवेको उद्घाटन गर्ने पनि उनले सदनमा जानकारी गराए। यस अतिरिक्त, प्रधानमन्त्रीको बाहुलीद्वारा नाम्चलीमा स्वर्ण जयन्ती सम्मेलन केन्द्र, भालेढुङ्गा स्काईवाक, नथुला सीमा पर्यटन विकास, सिङशोर ब्रिज, स्वर्ण जयन्ती एकीकृत सांस्कृतिक एवं खेलकुद गाउँ र तादोङमा कार्यरत महिला छात्रावासको शिलान्यास गरिने पनि उनले थप जानकारी गराए।