बजेट अधिवेशनमा राज्यपालको सम्बोधन

IMG-20250326-WA0284

सिक्किमले सतत विकास, अर्थव्यवस्था र सांस्कृतिक विरासतको क्षेत्रमा नयाँ उच्चाई छोएको छः राज्यपाल माथुर

गान्तोक: राज्य विधानसभामा वार्षिक बजेट २०२५-२६ प्रस्तुत गरिने क्रममा आजको सदनमा राज्यपाल ओम प्रकाश माथुरले आफ्नो सम्बोधन राखे। राज्यपालले आफ्नो सम्बोधनमा विभिन्न क्षेत्रमा राज्य सरकारले गरेका उल्लेखनीय कार्यसाथै भावी कार्यक्रमबारे पनि जानकारी गराउनुभयो। उनले यस वर्ष २०२५ लाई सिक्किम राज्य र सिक्किमवासीको निम्ति ऐतिहासिक वर्ष रहेको कारण यसै वर्ष सिक्किम राज्य गठनको ५० वर्ष पूरा भएको बताए। सरकारले राज्य गठनको स्वर्णजयन्ती समारोहलाई भव्यरुपमा आयोजना गर्न गइरहेको जसमा देशका प्रधानमन्त्री नरेन्द्र मोदीको पनि विशेष उपस्थिति रहने उनले सदनलाई जानकारी गराए। यस पाँच दशकमा सिक्किम राज्यले एउटा शान्तिपूर्ण हिमाली राज्यको रुपमा मात्र पहिचान नबनाएर सतत विकास, बलियो अर्थव्यवस्था र समृद्ध सांस्कृतिक विरासतको क्षेत्रमा पनि नयाँ उच्चाई छोएको जसको राष्ट्रीय अनि अन्तर्राष्ट्रीय स्तरमा सराहना भएको राज्यपालले बताए। उहाँले भने, सुनौलो, समृद्ध र समर्थ सिक्किम-को नारा दिएर पालन गरिन गइरहेको राज्य गठनको स्वर्णजयन्ती समारोह एक उज्जवल, समृद्ध र आत्मनिर्भर सिक्किम निर्माण गर्ने दिशामा राज्य सरकारको प्रतिवद्धताको प्रतिक हुनेछ। यस समारोह अवधि प्रधानमन्त्री नरेन्द्र मोदीको बाहुलीबाट विभिन्न परियोजनाको उद्धाटन साथै केही परियोजनाको शिलान्यास गरिने पनि राज्यपालले जानकारी गराए जसमा नवनिर्मित नाम्ची जिल्ला अस्पताल, स्वर्ण जयन्ती मैत्रेय मञ्जरी र पूर्व प्रधानमन्त्री अटल बिहारी बाजपयको प्रतिमा प्रमुख रहेको छ।
राज्यपाल ओम प्रकाश माथुरले सिक्किम सरकारको वित्तीय वर्ष २०२५-२६ को वार्षिक बजेट विकसित भारत २०२७ को लक्ष्यअनुरुप हुने विश्वास व्यक्त गरेका छन्। जसले सिक्किमवासीका विशेष आवश्यक्ताहरूलाई पनि पूरा गर्ने उनको भनाइ रहेको छ। राज्यपालको भनाइअनुसार शिक्षालाई राज्य सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको छ। राज्य सरकारको गुणवत्तापूर्ण शिक्षाको प्रतिवद्धता राष्ट्रीय शिक्षा नीति २०२० अनरुप रहेको जसले सिक्किमलाई शैक्षिक परिवर्तनमा अग्रणी राज्य बनाएको उनको भनाइ रहेको छ। राज्य सरकारले आधारभूत साक्षरतालाई बढ़ाउन शिक्षकहरूको प्रशिक्षण र शिक्षण विधिको सुधारमा बल दिएको उनले बताए। यसरी नै उच्च शिक्षामा व्यवसायिक शिक्षासँगै नयाँ-नयाँ विषयलाई जोड़ेर विद्यार्थीहरूको निम्ति करियरको अधिक अवसरहरू उपलब्ध गराइएको पनि राज्यपालले थप बताए।
राज्यपाल माथुरले आफ्नो सम्बोधनमा स्वास्थ्य क्षेत्रमा पनि राज्य सरकारले उल्लेखनीय कार्य गरेको दावी गरेका छन्। उनले भने, राज्य सरकार आफ्नो नागरिकलाई राम्रोभन्दा राम्रो स्वास्थ्य सेवा उपलब्ध गराउन प्रतिवद्ध छ। राज्यका प्रत्येक नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा पावोस भन्ने कुरालाई सरकारले सुनिश्चित गरेको छ। यसको निम्ति सरकारले स्वास्थ्य क्षेत्रको बुनियादी ढाँचा बलियो बनाउने कार्य गरेको छ। यस दिशमा सरकारले गान्तोकको एसटीएनएम अस्पतालको बुनियादी ढाँचामा सुधार गर्नुको साथै नयाँ अनि आधुनिक सुविधाहरू जड़ान गरिएको राज्यपालले बताए। राज्य सरकारले विभिन्न जनकल्याणकारी योजनामार्फत राज्यवासी, विशेष गरेर कमजोर आर्थिकस्थिति भएकाहरूलाई स्वास्थ्य सुविधाहरू उपलब्ध गराइरहेको जसमा मुख्यमन्त्री स्वास्थ्य सुविधा योजना, मुख्यमन्त्री चिकित्सा सहायता योजना, वात्सल्य योजना आदि प्रमुख रहेको राज्यपालले आफ्नो सम्बोधनमा थप बताए।
शिक्षा र स्वास्थ्यसँगै पर्यावरण संरक्षणको क्षेत्रमा पनि राज्य सरकारले उदाहरणीय कार्य गरेको राज्यपाल ओम प्रकाश माथुरले सदनलाई जानकारी गराए। यस सम्बन्धमा बोल्दै हालै पश्चिम सिक्किमको खेचुपेरी लेक-ले राज्यको पहिलो रामसर साइटो रुपमा विश्वस्तरमा मान्यता प्राप्त गरेकोमा उनले सम्पूर्ण राज्यवासीलाई बधाई पनि दिए। राज्य सरकारले मेरो रुख मेरो सन्तती, सिक्किम शिशु समृद्धि योजना, माइ चाइल्ड फ्रम दि वाइल्ड, मेरो बाटो मेरो बोट जस्ता महत्वाकांक्षी योजनाहरू लागु गरेर पर्यावरण र वन्यजीवको संरक्षणमा विश्वकै निम्ति उदाहरणीय कार्य गरेको उनको भनाइ रहेको छ।
राज्य सरकारले अन्य विभिन्न क्षेत्र जस्तै पञ्चायती राज, ऊर्जा, पूर्वाधार निर्माण, केन्द्रीय योजनाहरूको कार्यान्वयन आदिमा पनि उल्लेखनीय कार्य गरेको राज्यपाल माथुरले दावी गरेका छन्। विभिन्न क्षेत्रमा अद्वितीय प्रगति गरिसकेको सिक्किम सरकार राज्यको विकासको गतिलाई अझ तीव्रता दिन कटिवद्ध रहेको उनको भनाइ रहेको छ। राज्यपालले भने, वर्ष २०१९ देखि २०२४ सम्म सिक्किम राज्यले उल्लेखनीय प्रगति गरेको छ। यस अवधि राज्यको जीडीपी ८५ प्रतिशत बढेर ५२,५५५ करोड़ भएको अनि प्रति व्यक्ति आय ६४ प्रतिशत बढ़ेर ७,०७,१८१ रुपियाँ भएको उनले बताए। यसरी नै पुञ्जी निवेशमा २६९ प्रतिशतको वृद्धि दर्ता गरिएको थप बताए। यसले राज्यको रणनीतिक वित्तीय प्रवन्धन र संशाधनको प्रभावी उपयोगलाई दर्शाउने राज्यपालको भनाइ रहेको छ। केवल २.६ प्रतिशत जनसङ्ख्या गरिबी रेखा मुनी रहेको सिक्किम राज्यले गरिबी उन्मूलनमा देशको चौथो सर्वश्रेष्ठ राज्यको रुपमा मान्यता पाएको पनि उनले थप बताए। यसको साथै विनिर्माण क्षेत्रमा सर्वोच्च ३५.७ प्रतिशत मूल्य प्रवर्धनको साथमा सिक्किम औद्योगिक विकासमा पनि देशको एक अग्रणी राज्य बन्न पुगेको राज्यपाल माथुरको दावी रहेको छ। राज्यको यस प्रगतिलाई कायम राख्न अनि अझ अघि बड़ाउन राज्य सरकारले इन्स्टीट्यूट फर ट्रान्सफरमिङ सिक्किम गठन गरेको पनि उहाँले जानकारी गराउनुभयो।
राज्यपाल ओम प्रकाश माथुरले समावेशी प्रगति, सतत विकास र आर्थिक स्थिरता प्रति पूर्ण प्रतिवद्धताको साथमा राज्य सरकारले पेश गरेको वर्ष २०२५-२६ को वार्षिक आम बजेटलाई समर्थन गरिदिने सदनका सबै सदस्यलाई अनुरोध गरेका छन्।
आफ्नो सम्बोधन समाप्त गरेपछि राज्यपाल सदनबाट राजभवन प्रस्थान गरे। त्यस अघि उनले विधानसभा परिसरमा सदनका सबै सदस्यहरूको साथमा आधिकारिक तस्वीर पनि लिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement