गेजिङ: सोपाखा सरकारी माध्यामिक विद्यालयमा ७२ बटालियन सशस्त्र सीमा बलद्वारा जनकल्याण योजनाअन्तर्गत निर्माण गरिएको नवनिर्मित ब्याडमिन्टन कोर्टको उद्घाटन गरियो। विद्यालयको शारीरिक स्वास्थ्य र खेलकुद प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण गरिएको यस खेलमैदानको उद्घाटन समारोहमा एसएसबीका डीआइजी रेन्ज, गान्तोक सेक्टर मनिष कुमार मुख्य अतिथि थिए। साथै, आइसी नारायण राम र सहायक कमान्डेन्ट टीएच विजय विशेष अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रममा मुख्य अतिथिले विद्यालयका प्रधानाध्यापक एएच लिम्बू, अधिकारीहरू तथा विद्यालय परिवारका सदस्यहरूद्वारा परम्परागत दीप बालेर कार्यक्रम शुरु गरियो। विद्यार्थीहरूले प्रस्तुत गरेका साँस्कृतिक नृत्य तथा कार्यक्रमले मनोरञ्जन दिलाएको थियो। यस अवसरमा प्रमुख अतिथि डीआइजी मनिष कुमारले आफ्नो मन्तव्य राख्दै विद्यालय र एसएसबीबीचको सहकार्यको प्रशंसा गरे। उनले खेलकुदले विद्यार्थीहरूमा अनुशासन, टीमवर्क, आत्मविश्वास तथा सहनशीलता विकसित गर्ने कुरामा जोड दिए। यस ब्याडमिन्टन कोर्टलाई अधिकतम उपयोग गरी शारीरिक तन्दुरुस्ती र खेलकुदमा उत्कृष्टता प्राप्त गर्न प्रेरित गरेका थिए। विद्यालयले सशस्त्र सीमा बलको निरन्तर सहयोगको कदर गर्दै धन्यवाद पत्र प्रदान गरेको थियो। नयाँ ब्याडमिन्टन कोर्टले विद्यार्थीहरूलाई खेलकुद गतिविधिमा संलग्न हुन प्रेरित गर्दै उनीहरूको स्वास्थ्य र खेलकुद दक्षता अभिवृद्धि गर्न सहयोग गर्ने आशा गरिएको छ। विद्यालयले भविष्यमा पनि एसएसबीसँग सहकार्यलाई निरन्तरता दिँदै शैक्षिक तथा खेलकुद क्षेत्रमा विद्यार्थीहरूलाई थप अवसर प्रदान गर्ने लक्ष्य लिएको छ।