गान्तोक: राभाङलामा प्रत्येक वर्ष आयोजन हुने आठौं छोजो महोत्सवको तयारीलाई लिएर एक उच्चस्तरीय बैठक आज राबाङलामा सम्पन्न भयो। छोजो झील परिसरमा बसेको बैठकमा आगामी छोजो पर्यटन महोत्सवबारे छलफल गरियो। यसपल्टको महोत्सव प्रकृति, संस्कृति र खेलकुद विषयवस्तुहरूमा केन्द्रित हुने जानकारी दिइयो। उक्त कार्यक्रम सिक्किम सरकारको पर्यटन विभागको सहयोगमा डिस्कभर राभाङ्ला-छोजो फेस्टिवल समितिले आयोजना गरिरहेको छ। महोत्सवको दुई आकर्षण खुल्ला अन्तरराज्यीय भलिबल प्रतियोगिता र मुख्यमन्त्री भलिबल गोल्ड कप २०२५ अन्तरराज्यीय भलिबल प्रतियोगिता हुनेछ। आगामि १२ देखि १५ अप्रेलसम्म आयोजन हुने कार्यक्रममा सांस्कृतिक कार्यक्रम अर्को आकर्षण हुनेछ। उक्त महोत्सव सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङको संरक्षण र विधायक रिक्सल डी भोटियाको संरक्षणमा आयोजना गरिएको छ। कार्यक्रमको उद्देश्य राभाङ्लालाई प्रमुख सांस्कृतिक र साहसिक पर्यटन गन्तव्यको रूपमा प्रवर्द्धन गर्नु रहेको छ। महोत्व तयारीको एक भागको रूपमा आज जिम्मेवारी सुम्पिएको थियो। आज बैठकमा कार्यक्रमसँग सम्बन्धित संरचनाहरू निर्माणबारे समीक्षा गरियो। बैठकको अध्यक्षता मुख्यमन्त्रीका राजनीतिक सचिव विकास बस्नेतले गरेका थिए। यसमा युवा अध्यक्ष तथा सामाजिक कार्यकर्ता लाक्पा मोक्तान; मुख्यमन्त्रीका प्रेस सचिव युगन तामाङ; मुख्यमन्त्रीका ओएसडी कर्मा सुब्बा; पूर्व अतिरिक्त राजनीतिक सचिव छिरिङ वाङचुक लेप्चा र विशाल शर्मा, टास अध्यक्ष सोनाम नोर्गे लाचुङपा, पूर्व अध्यक्ष विष्णु शर्माको उफस्थिति थियो।