झापा: देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ। केही प्रदेशमा हिमपातको पनि सम्भावना छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान पहाडी भूभागमा आंशिक बदली रहेको छ। बाँकी भूभागको मौसम मुख्यतया सफा छ।
विभागले दिउँसो कोसी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको बताएको छ।
कोसी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। अन्य प्रदेशमा भने आंशिक बदली मात्रै रहनेछ।
काठमाडौं आज आंशिक बदली रहने मौसमविद् मीनकुमार अर्यालले बताए। “काठमाडौंमा आज मौसम सामान्य बदली मात्रै हुनेछ,” उनले भने, “काठमाडौंमा अझै केही दिन वर्षाको सम्भावना छैन।”
वर्षा र हिमपातको सम्भावना रहेका भूभागको दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई सेवा प्रभावित हुनसक्ने भन्दै विभागले सचेत रहन आग्रह गरेको छ।
वर्षा र हिमपातको सम्भावना रहे पनि तत्काललाई हावाहुरीको सम्भावना भने नरहेको मौसमविद् अर्यालले बताए।
हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।