गेजिङ: उत्तरेमा तीन दिनसम्म चलेको सिक्किम ग्रामीण पर्यटन उत्सव २०२५ सफलतापूर्वक सम्पन्न भएको छ। यो उत्सवले स्थानीय मानिसहरुलाई पर्यटनमार्फत आम्दानी बढाउने कुरामा प्रेरित गरेको छ। महोत्सवको अन्तिम दिन सहभागीहरूले ट्रेकिङ र चरा बर्ड वाचिङ गरे। साथै, पर्यटन प्रवर्द्धनका नयाँ उपायहरूबारे छलफल भयो। क्षेत्रलाई अधिक आकर्षक बनाउन र पर्यटकहरूको संख्यामा वृद्धि ल्याउने विषयमा गम्भीर विचार-विमर्श गरियो। अधिकारीहरूले भविष्यमा पर्यटन पूर्वाधार सुधार गर्ने र साहसिक पर्यटन थप्ने योजनाहरू सार्वजनिक गरेको छ।
प्रतिभागीहरूले धेरै सिक्ने अवसर पाएको अनुभव सुनाए। उनीहरूले यस्ता कार्यक्रम पर्यटनको समग्र वृद्धिका लागि निकै उपयोगी हुने बताए। विधायक सुदेश कुमार सुब्बाले कार्यक्रमलाई सफल बनाउन योगदान दिएका सबैलाई धन्यवाद व्यक्त गरेका छन्। उनले स्थानीय समुदायलाई पर्यटनबाट प्रत्यक्ष फाइदा दिलाउन होमस्टे, पर्यावरणमैत्री तथा साहसिक यात्रा प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए। साथै, मुख्यमन्त्री प्रेमसिंह तामाङको दुरदृष्टि अनुरूप सिक्किम पर्यटनमा नयाँ युगको सुरुवात भइरहेको बताए। आज समापन दिवसको अवसरमा विधायक सुब्बाले पर्यटकहरुको साथमा भारत नेपाल सिमा क्षेत्र चिउवा भञ्ज्याङ्, फोक्टे, कालीझार आदिका पर्यटकीय गन्तव्यहरुको अवलोकन साथै ट्रेकिङ गरेका थिए।