गान्तोक: सिक्किम डेमोक्रेटिक फ्रण्ट पार्टीले राज्यमा बढ़दो आत्महत्याको घट्नालाई लिएर चिन्ता व्यक्त गरेको छ। पार्टीकी प्रवक्ता सुश्री योजना खालिङले आत्महत्याको घट्नाहरूमा रोक लगाउन राज्यको एसकेएम सरकारले के-कस्ता पहल गरिरहेका छन् भन्दै प्रश्न तेर्साएकी छन्। आत्महत्या गर्नेहरूमा धेरैजना विद्यार्थीहरू पनि रहेको बताउँदै सरकार र शिक्षा विभागले शिक्षा व्यवस्थामाथि ध्यान दिनुपर्ने उनले एसडीएफ पार्टीको पक्षमा सुझाउ पनि राखेकी छन्। सरकारले नाचगानमा मात्र होइन शिक्षाको क्षेत्रमा पनि ध्यान दिनुपर्ने उनले बताइन्। यसको साथै शिक्षकहरूको नियुक्ति राजनीतिक दबाउमा नभएर योग्यताको आधारमा गर्नुपर्ने उनको भनाइ रहेको छ।
शिक्षकहरूकै बारेमा बोल्दै सुश्री योजना खालिङले मुख्यमन्त्री प्रेमसिंह तामाङलाई चुनाउ अघिको एउटा घोषणा याद दिलाएकी छन्। मुख्यमन्त्रीले गत विधानसभा र लोकसभा चुनाउ अघि नाम्चीमा राष्ट्रीय शिक्षा दिवस २०२३को कार्यक्रमलाई सम्बोधन गर्दै फेरि सरकारमा ल्याएको खण्डमा अघिल्लो वर्ष २०२४को राष्ट्रीय शिक्षा दिवसको अवसरमा पाल्जोर स्टेडियममा कार्यक्रम आयोजना गरेर चार वर्ष सेवाकाल पुग्ने नपुग्ने सबैलाई स्थायी नियुक्तिपत्र प्रदान गर्ने घोषणा गरेको उनले पत्रकारहरूसितको कुराकानीमा बताइन्। तर, मुख्यमन्त्री तामाङले आफ्नो उक्त वचनलाई पूरा नगरेको भन्दै यथाशीघ्र ती अस्थायी शिक्षकहरूलाई स्थायी गरिनुपर्ने उनले माग गरेकी छन्।
यसरी नै एसडीएफ प्रवक्ता सुश्री योजना खालिङले राज्यमा बड़दो चोरीको घट्नामाथि पनि चिन्ता व्यक्त गरेकी छन्।