खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय स्तरमा खरसाङमा स्थापना दिवस कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित डा. हर्कबहादुर छेत्रीले आफ्नो सम्बोधनमा जनताले झण्डा होइन काम हेर्छ भन्दै आफुलाई सम्मान गरेर निमन्त्रणा दिएकोले यहाँ आएको बताउँदै कुनै पनि पार्टीको अध्यक्ष अर्को पार्टीको कार्यक्रममा जानु हुँदैन भनेर कता लेखेको छ, संविधानको कुन धारामा लेखेको छ अनि कुन कानून अनुसार पक्राउ गरिन्छ भनी प्रश्न गरेका छन्। आफुलाई कार्यक्रममा आएको विषयमा सामाजिक सञ्जालमा गाली गरेको विषयमा बोल्दै काम नगर्ने मान्छेसित पुरा समय हुन्छ र नै यसरी जथाभावी लेख्ने गर्छ भनी बताएका छन्। उनले मलाई गाली गरेर अनि मलाई जथाभावी लेखेर रोजगार पाउँछ र पेट पाल्नु सक्छ भने मेरोबाट आशिर्वाद नै छ भनी बताएका छन्। डा. छेत्रीले जति गाली गरे पनि सहनु सक्ने र पचाउन नसक्ने भएको भए अनित थापा जीटीएमा हुँदैन थियो तर अस्तपालमा हुने थियो भनी बताएका छन्। कालेबुङका पूर्व विधायक एंव वर्तमान प्राथमिक स्कूलको चेयरम्यान डा. हर्कबहादुर छेत्रीले जीटीएमा भर्खर चार महिना भयो र अहिले नै गाली नगरौं, अहिले नै आलोचना नगरौं, काम गर्ने मौका दिनुपर्छ भन्दै तीन वर्षपछि पनि काम गरेन भने बरु म आफै आलोचना गर्छु भनी बताएका छन्। डा. हर्कबहादुर छेत्रीले भने, ‘शिक्षा व्यवस्थामाथि सुधार ल्याउनलाई दिल्लीमा गएर मनिष सिसोधियासंग भेटेर उनीहरूको शिक्षा मोडल अध्ययन गर्ने सोच राखेका छौं जसलाई जीटीए चिफ् अनित थापाले पनि स्वीकार गरिसकेका छन्। झिंगा अनि मौरी हेर्दा एउटै देखिन्छ तर दुइटाकै ब्यौरा अलग अलग छ। जनताले बुझ्नुपर्छ को मौरी अनि को झिंगा हुन् भनेर।’ उनले अघि भने, स्कूल सर्भिस कमिसन सरकारले नै बनाउनु भनेर धेरै अघि भनेका थिए। ३ सदस्यीय कमिटी बनाउने पत्रसम्म सरकारबाट आएको थियो। पहाडको विकास गर्नु हो भने झण्डा हुनु नै पर्छ भन्ने छैन।
जुन पार्टीले सही काम गर्दैछ त्यही पार्टी हाम्रो भन्ने सोच राखेर काम गर्नुपर्छ।’
डा. हर्कबहादुर छेत्रीले भारतीय जनता पार्टीमाथि बोल्दै मैले अमित शाहबाहेक भाजपाका अन्य प्रायः सबै नेताहरुसंग बसेर बात गर्ने मौका पाएको छु। तर भाजपाको हेर्ने दृष्टि ठीक छैन भनी बताएका छन् । उनले भने- ‘अहिले पहाडमा जीटीएको अध्यक्षलाई प्रश्न गर्न सक्ने वातावरण छ। त्यस्तो वातावरण २०१७ अघि थियो?
आज सरकारसंग मिल्छु भन्ने पहाडमा छ, सरकारसित मिलेर पहाडमा विकास गर्छु भन्ने छ। यहाँ काम गर्ने वातावरण छ। पहाडले मौका चुकाउनु हुँदैन।
चिन्हारीको सिलेबस विकासको सिलेबससँग मिसाउनु हुँदैन। जहाँ जहाँ म उपयोगी हुन्छ त्यहाँ त्यहाँ म तपाईहरुसंग उभिएको हुनेछु।’
डा. हर्कबहादुर छेत्रीले पछिबाट पत्रकारहरूसित कुराकानी गर्दै म अर्को दलको भए पनि सम्मान गरेर निमन्त्रणा दिएकोले यहाँ आएको हो जुन सौहार्द हो किनभने अर्को दल भन्नसाथ ८६ देखि नै दुश्मनको रूपमा हेर्ने बानी बसेको छ भनी बताएका छन्। पत्रकारहरूले सोधेका विभिन्न प्रश्नहरूको उत्तर दिन्दै डा. हर्कबहादुर छेत्रीले भने- ‘राजनीतिक दल भनेको जात होइन मान्छे हो अनि कुनै पनि मान्छे कुनै पनि राजनैतिक दलको कार्यक्रमतिर जान सक्छ। जुन दलको क्रियाकलाप राम्रो हुन्छ, जुन पार्टीले अलिकति अघाड़ी लान सक्छ भन्ने हुन्छ अनि कुनै पनि राजनैतिक दल मन परेको खण्डमा समर्थन गर्नसक्छ।’

एक प्रश्नको उत्तरमा डा. हर्कबहादुर छेत्रीले भने- ‘कुनै पनि मानिस र पार्टीले सम्मान गरेर अनि विस्वास गरेर अभिभावककको रूपमा राख्न चाहान्छ भने त्यो पनि ठीकै छ तर राजनीति पार्टीमा जाने नजाने सम्भावना भन्ने कुरा राजनीतिमा धेरै हुन्छ। त्यसैले यो भनेर एउटा मात्र भन्दा पछिबाट त्यो नहुन पनि सक्छ। तर वर्तमान समयमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले राम्रै काम गर्दैछ।’ डा. छेत्रीले भने, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको समयमा राम्रो भईरहेको छ। पहिलेको जस्तो ढुंगा हान्ने र घर तोड्ने छैन बरु आफ्नो इच्छा अनुसार कुनै पनि पार्टीमा जान सक्ने समय छ र यही नै लोकतन्त्र हो।’
डा. छेत्रीले पत्रकारहरूले सोधेका प्रश्नको उत्तरमा भने- ‘अहिले मलाई यहाँ देखेर पचासवटा सम्भावना देखिएको छ तर म स्कूल बोर्डमा छु अनि स्कूल बोर्ड जीटीएको अधीनस्थ छ र म पनि जीटीएको अधीनमा रहेर कार्य गर्नुपर्छ। त्यसैले म अहिले कुन पार्टीमा छु भन्दा पनि मैले पाएको जिम्मेवारी कसरी पूरा गर्नसक्छु त्यो मुख्य हो।’