दक्षिण सिक्किम साहित्य सम्मेलनको‌ ३०औं स्थापना दिवस साथै राज्य स्तरीय पुरस्कार अलङ्करण तथा सम्मान समर्पण कार्यक्रम सम्पन्न

IMG-20250325-WA0293

नाम्ची: दक्षिण सिक्किम साहित्य सम्मेलनको‌ ३०औं स्थापना दिवस साथै राज्य स्तरीय पुरस्कार अलङ्करण तथा सम्मान समर्पण २०२५ सम्पन्न भएको छ।‌ २४ मार्च १९९५ सालमा स्थापना भएको दक्षिण सिक्किम साहित्य सम्मेलनको आज आफ्नो ३०औं स्थापना दिवस समारोह सम्पन्न भएको छ। उक्त कार्यक्रम दक्षिण सिक्किमको नाम्चीस्थित अफिसर्स क्लबमा भव्यताका साथ सम्पन्न भएको छ। यस कार्यक्रमको अध्यक्षता दक्षिण सिक्किम साहित्य सम्मेलनको‌ पूर्व अध्यक्ष एंव वर्तमान सल्लाहकार डा नयन राईले गरेका थिए भने प्रमुख अतिथिको रूपमा वरिष्ठ साहित्यकार एंव शिक्षाविद् धन ‘निर्दोष’ सुब्बा उपस्थित रहेका थिए। दक्षिण सिक्किम साहित्य सम्मेलनको‌ महासचिव सुरेश सुब्बा ‘बियोगी’ ले सञ्चालन गरेको कार्यक्रममा स्वागत सम्भाषण सम्मेलनको अध्यक्ष दलमान डी गुरुङले राखेका थिए। एजुकेयर एकाडेमीको नानीहरुले नृत्य प्रस्तुत गरेको कार्यक्रममा दक्षिण सिक्किम साहित्य सम्मेलनको‌ १९९५ सालदेखि आजसम्मको दस्तावेज रहेको पुस्तक अतिथिहरुका बाहुलीबाट लोकार्पण गरिएको छ। यसै कार्यक्रममा दक्षिण सिक्किम साहित्य सम्मेलनको‌ तर्फबाट सिक्किमको तीनजना र सिक्किमदेखि बाहिरका तीनजना साहित्यकारहरुलाई नेपाली साहित्य सम्मानद्वारा सम्मानित गरिएको छ‌। सम्मानित हुनेहरुमा आसामका केबी नेपाली, खरसाङकी आशा मुखिया लामा, सोरेङका प्रकाश भट्टराई, देन्तामकी रिक्की ल्हमु लेप्चा, मणिपुरका राहुल राई बोगिको, सुम्बुकका विक्रम किशोर गौतम आदि रहेका छन्। यसै कार्यक्रममा कविता वाचन कार्यक्रम पनि आयोजना गरिएको थियो जसमा अबिगेल राई, सीएल ओझा, रोशन राई आदिले कविता वाचन गरेका थिए ॐ। यस कार्यक्रमलाई पेम नर्बु शेर्पाले सञ्चालन गरेका थिए। कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित वरिष्ठ साहित्यकार एंव शिक्षाविद् धन निर्दोष सुब्बा र नेपालमा आयोजित पोयट आईडल सिजन दुईको विजेता सिक्किमका कवि सिमियोन सुकिता राईलाई पनि सम्मानित गरिएको छ। कार्यक्रममा कवि सिमियोन सुकिता राईले कविता पनि वाचन गरेका थिए। कार्यक्रममा शिवकुमार राई, अगमसिंह तामाङ, बलि सुब्बा बसन्त र एल्डी राई मिक्खोले आदिको परिचायात्मक जानकारी गणेश छेत्रीले राखेका थिए। यसै कार्यक्रममा दक्षिण सिक्किम साहित्य सम्मेलनको‌ तर्फबाट वार्षिक रुपमा प्रदान गरिने विभिन्न पुरस्कारहरु अलङ्करण गरिएको छ।

यस क्रममा चुनिलाल घिमिरेलाई शिवकुमार राई स्मृति पुरस्कार, कवि आदर्श मिलन प्रधानलाई कवि अगमसिंह तामाङ प्रतिभा पुरस्कार, अशोक कुमार राईलाई एल्डी राई मिक्खोले प्रतिभा पुरस्कार र विवेक बस्नेतलाई बलि सुब्बा बसन्त प्रतिभा पुरस्कार प्रदान गरिएको छ। कार्यक्रममा श्रध्दा राईले सुमधुर स्वरमा गीत प्रस्तुत गरेकी थिइन् भने विवेक बस्नेतले पनि गीत प्रस्तुत गरेका थिए। कार्यक्रममा मुख्य अतिथिको रुपमा उपस्थित वरिष्ठ साहित्यकार एंव शिक्षाविद् धन निर्दोष सुब्बा लगायत सम्मानितहरु खरसाङकी आशा मुखिया लामा, चुनिलाल घिमिरे, प्रकाश भट्टराई, राहुल राई बोगिको आदिले पनि सम्बोधन गरेका थिए। कार्यक्रममा धन्यवाद ज्ञापन केएस राई ‘सहयोगी’ ले राखेका थिए।

About Author

Advertisement