गान्तोक: उत्तर सिक्किमको लाचुङ पुलिसले आज लाचुङदेखि जीरो पोइन्टसम्मको व्यापक सरसफाई गऱ्यो। विशेष गरेर पर्यटन सिजनमा अधिक पर्यटकको कारण फोहर मैला हुने गरेको लाचुङदेखि जीरो पोइन्टसम्मको क्षेत्रलाई सरसफाई गरेर पुलिसले पर्यावरण संरक्षण सम्बन्धमा असल संदेश दिएको छ। एसएचओ तिलक छेत्रीले अगुवाइ गरेको यस सफाई अभियानमा लाचुङ थानाका पुलिसकर्मी साथै अधिकारीहरूले सक्रिय सहभागिता जनाएका थिए।
कानूनको सुरक्षा गर्ने हातहरूले पर्यावरणको सुरक्षामा योगदान दिएकोमा स्थानीयहरू साथै पर्यटकहरूले लाचुङ पुलिसको मुग्धकण्ठले प्रशंसा गरेका छन्। यसले लाचुङ पुलिसको सार्वजनिक सेवा र पर्यावरण संरक्षण दुवैप्रतिको दृढ प्रतिबद्धतालाई प्रतिबिम्बित गर्ने स्थानीयहरूको भनाइ रहेको छ।
सरसफाई अभियानअवधि लाचुङ पुलिसले स्थानीयवासी, चालकहरू साथै पर्यटकहरूलाई पर्यावरण संरक्षण साथै डस्टबीनको प्रयोग बारे सचेत पनि गराए।