सप्तरी: नेकपा (एमाले)ले पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले राजावादीको प्रदर्शनलाई लिएर गरेको भनिएको टिप्पणीबारे स्पष्टीकरण दिएको छ। सोमबार एक वक्तव्यमार्फत पार्टीका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री ओलीको अभिव्यक्तिका नाममा ‘अनावश्यक सनसनी’ फैलाउने काम भएको बताएका छन्।
नेपाल र भारतका केही सञ्चारमाध्यममा चैत ४ गते बसेको एमाले सचिवालय बैठकमा राजावादीको प्रदर्शनलाई प्रधानमन्त्री ओली भारतप्रति आक्रामक बनेको दाबीसहितका समाचार प्रकाशित भएका छन्। बैठकमा ओलीले आफूलाई भारतले पदबाट हटाउन खोजेको र राजावादीको आन्दोलनलाई साथ दिएको बताएको दाबी समाचारमा गरिएको छ। ओलीले यसबारे संसद्मा खुलासा गर्ने बताएको दाबी समाचारमा छ। ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पक्राउ गर्ने पनि बताएको जिकिर समाचारमा छ।
यसै विषयमा आज एमालेका महासचिवले स्पष्टीकरण दिएका हुन्। “पूर्वराजावादीहरूको केही दिन अगाडिको प्रदर्शनलाई लिएर प्रधानमन्त्रीले भन्नुभएको भनेर प्रकाशित गरिएका विषय निराधार र अतिरञ्जित छन्। तिनले अनावश्यक सनसनी फैलाउने एवं नेपाल र भारत बिचको युगौँ पुरानो सम्बन्धमा आशंका बढाउने दुराशय बोकेका छन्,” एमालेको वक्तव्यमा भनिएको छ।
महासचिव पोखरेलले ‘इतिहासको पांग्रालाई पछाडि फर्काउने कुनै पनि प्रयासलाई नेपाली जनताले सहजै विफल’ पारिदिने विश्वास आफूहरूको रहेको पनि बताएका छन्।
“नेपालको संविधान र हामीले अवलम्बन गरेको लोकतान्त्रिक गणतन्त्र नेपाली जनताको सार्वभौम चयनको विषय हो। संसारका कुनै पनि लोकतान्त्रिक मुलुक र जनता लोकतन्त्रका ठाउँमा निरंकुशतन्त्रलाई प्रश्रय दिन सहमत हुन सक्दैनन् भन्ने कुरामा हामी स्पष्ट छौँ,” उनले वक्तव्यमा भनेका छन्।
महासचिव पोखरेलले एमाले र पार्टी नेतृत्वको वर्तमान सरकार नेपाल–भारत सम्बन्धलाई अझ प्रगाढ बनाउन प्रतिबद्ध रहेको बताएका छन्। “कुनै विषय भए कूटनीतिक माध्यमबाट समाधान गर्न र बलियो विकास साझेदारी अगाडि बढाउन प्रतिबद्ध छन्,” वक्तव्यमा भनिएको छ।