नवलपरासीमा क्षयरोगबाट १३ जनाको मृत्यु

IMG-20250324-WA0194

पश्चिम नवलपरासी: हरेक वर्ष क्षयरोगीको सङ्ख्या बढ्दै गएको पश्चिम नवलपरासीमा १३ जनाको मृत्यु भएको छ। दुई वर्ष अगाडि क्षयरोग पहिचान भएका उनीहरूको उपचारकै क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ।
मृत्यु भएका सबै वृद्ध अवस्थाका व्यक्ति हुन्। क्षयरोग लागेको ढिलो पहिचान भई उपचारको दायरामा आउन नसक्दा उनीहरूको मृत्यु भएको जनस्वास्थ्य अधिकृत जान मोहम्मद पठानले बताउनुभयो।
जिल्लामा क्षयरोगीको उपचारदर ९३ प्रतिशत मात्र सफल भएकाले रोगीको पहिचान गरी समयमै उपचारको दायरामा ल्याउनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्। जिल्लामा हरेक वर्ष क्षयरोगीको सङ्ख्या बढ्दो छ। पछिल्लो ६ महिनामा दुई सय एक जनामा क्षयरोग रोग भेटिएका छन्।
उनीहरूले जिल्लाका विभिन्न ६१ स्थानमा रहेको डट्स केन्द्रबाट औषधी खाइरहेका छन्। ग्रामीण भेगमा पुगेर शङ्कास्पद व्यक्तिको परीक्षण गर्नेक्रम बढेपछि रोगीको सङ्ख्या पनि वर्षेनी बढ्दो रहेको छ।
आर्थिक वर्ष २०७९÷८० मा चार सय सात जना क्षयरोगी भेटिएकोमा गत आर्थिक वर्षमा पाँच सय २० नयाँ क्षयरोगी भेटिएका थिए। चालु आर्थिक वर्षमा पनि खोजपड्ताल कार्यक्रम सञ्चालन गरी आठ सय रोगी पत्ता लगाउने लक्ष्यको साथ काम भइरहेको स्वास्थ्य कार्यालयका प्रमुख भेषराज शर्माले बताउनुभयो।
पछिल्लो छ महिनाको अवधिमा गरिएको परीक्षणका क्रममा रामग्राम नगरपालिकामा ४३, बर्दघाट नगरपालिकामा ४२, सुनवल नगरपालिकामा ३३, सरावल गाउँपालिकामा २७, पाल्हिनन्दन गाउँपालिकामा २४, प्रतापपुर गाउँपालिकामा १५ र सुस्ता गाउँपालिकामा १५ जना रोगी भेटिएका छन्।
ढिलो गरेर रोगको परीक्षण गर्ने र पुरा समय औषधी सेवन नगरेर स्वास्थ्यकर्मीको सम्पर्कमा नआउने समस्या सीमावर्ती पालिकामा बढि देखिएको छ। जिल्लामा औषधी सेवन गर्दागर्दै बिचमै छाडेर १४ जना रोगी सम्पर्कविहीन भएको पनि स्वास्थ्य कार्यालयले जनाएको छ। स्थानिय तहले क्षयरोगका विषयमा समुदायमा पुगेर सचेतनाका अभियान सञ्चालन गर्नुपर्नेमा पनि स्वास्थ्यकर्मीहरुले जोड दिएका छन्। रामग्राम नगरपालिकाका उपप्रमुख सम्झना चौधरीले रोगको पहिचान गर्न बजेट विनियोजन गरेर जनचेतनाका कार्यक्रम सञ्चालन गर्ने बताउनु भयो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement