सिलगढी: आगामी १७ सेप्टेम्बरको दिन तेरापन्थ युवक परिषदको आयोजनामा देशभरिमै मेगा ब्लड डोनेसन क्याम्पको गरिने भएको छ। यस क्याम्पको माध्यमद्वारा २ लाख युनिट रगत संग्रह गर्ने लक्ष्य राखिएको छ। यसैगरी, उक्त दिन सिलगढी र जलपाईगढीमा पनि मोठ ११ वटा शिविरको आयोजना गरिने भएको छ। सिलगढी जर्नलिस्ट्स क्लबमा आज एउटा पत्रकार सम्मेलनको आयोजना गरेर संगठनका सदस्यहरूले यसबारे जानकारी दिएका छन्। तेरापन्थ युवक परिषदका अध्यक्ष सुशील कुमार मालोले बताए अनुसार देशभरिमै रक्तदान शिविरको आयोजना गरेर मोठ २ लाख युनिट रगत संग्रह गर्ने संगठनको लक्ष्य रहेको छ। यसैले केही महत्वपूर्ण स्थानहरू लगायत सिलगढी र जलपाईगढीमा पनि ११ वटा शिविरको आयोजना गरिने भएको छ भने सिलगढीबाट १५०० युनिट रगत संग्रह गर्ने लक्ष्य राखिएको छ। मेगा ब्लड डोनेसन क्याम्पमा संग्रह गरिएको रगत सिलगढी लायन्स तराई, रोटरी सहित विभिन्न सरकारी ब्लड ब्याङ्कहरूमा पठाइनेछ।