गान्तोक: राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले विभिन्न मेडिकल कलेज र विश्वविद्यालयहरूमा एमबीबीएस, नर्सिङ, बीपीटी, प्यारामेडिकल, इन्जिनियरिङ, बीडीएस, पशु चिकित्सा विज्ञान, र बीएचए लगायत व्यावसायिक विषयहरूमा अध्ययन गरिरहेका राज्यका विद्यार्थीहरूसँग अन्तरक्रिया गरे। अन्तक्रियाको क्रममा मुख्यमन्त्री तामाङले विद्यार्थीहरूको अध्ययनप्रतिको समर्पण उत्साहलाई सराहना गर्दै अध्ययनप्रति ध्यान केन्द्रित गर्ने प्रोत्साहित गरे। यसका साथै उत्कृष्ट परिणामको लागि निरन्तर प्रयासरत रहने र आफ्ना परिवारलाई गर्व महसुस गराउने आग्रह गरे। हाम्रा युवाहरूले दृढ संकल्पका साथ आफ्नो सपनालाई साकार पार्न सक्ने विश्वास व्यक्त गरे। उनले विद्यार्थीहरूलाई उज्जवल भविष्यको निम्ति शुभकामना पनि दिएका थिए। मुख्यमन्त्रीले शिक्षा र कौशल विकासलाई सहयोग गर्ने सरकारको प्रतिबद्धतालाई पुन: दोहोऱ्याए।