गान्तोक: गेजिङ बर्मेक निर्वाचन क्षेत्रका विधायक लोकनाथ नेपालले आज बर्मेक बजारमा सिक्किम राज्य ब्यांक शाखाको आधिकारिकरूपमा उदघाटन गर्दै स्थानीयहरूलाई समर्पित गरे। उदघाटन कार्यक्रमको अवसरमा सिक्किम राज्य ब्यांकका अध्यक्ष डीबी गुरूङ, सल्लाहकार बिरेनचन्द्र राई, प्रबन्धक फूर्बा वाङदी भोटिया लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो। आज उदघाटन गरिएको नयाँ शाखाबाट स्थानीयहरूले वित्तीय सेवा पाउन सक्ने अपेक्षा गरिएको छ। यसका साथै आर्थिक समावेशीकरण र क्षेत्रलाई आर्थिक विकासमा टेवा पुऱ्याउन ठूलो सहयोग पुग्ने बताइएको छ। यस ब्यांकले सिक्किमका जनतालाई सेवा पुऱ्याउने र राज्यको समग्र विकासमा योगदान दिने विधायकले मन्तव्य प्रकट गरेका छन्।