हैदराबाद: सनराइजर्स हैदराबादले ईशान किशनको विध्वंशी शतकको सहायताले इण्डियन प्रीमियर लीग (आईपीएल) २०२५-मा यादगार शुरुवात गऱ्यो। आइतवार खेलिएको दिनको पहिलो म्याचमा सनराइजर्सले राजस्थान रोयल्सलाई ४४ रनले पराजित गऱ्यो। म्याचमा टस हारेर पहिला ब्याटिंग गर्दै सनराइजर्सले २० ओभरमा ६ विकेट गुमाएर २८६ रनको विशाल स्कोर बनायो। यो आईपीएल इतिहासमा कुनै पनि टीमको दोस्रो सर्वाधिक स्कोर हो। गत वर्ष सनराइजर्सले नै रोयल च्यालेञ्जर्स बेंगलुरुविरुद्ध ५ विकेटमा २८७ रन बनाएको थियो। सनराइजर्सको निम्ति आज ईशान किशनले ४७ बल खेलेर अविजित १०६ रन बनाए। यो उनको आईपीएलमा पहिलो शतक हो। किशनले ११ वटा चौका र ६ वटा छक्का लगाए। यसबाहेक ओपनर ट्रेविस हेडले ९ वटा चौका र ३ वटा छक्काको साथ ३१ बलमा ६७ रन बनाए। यी दुईजना बाहेक हेनरिक क्लासेनले ३४, नितिश कुमार रेड्डीले ३० र अभिषेक शर्माले २४ रन बनाए। राजस्थान रोयल्सका बलरहरूमा तुषार देशपाण्डेले ३ र महीष थीक्ष्णाले २ विकेट लिए। यसरी जोफ्रा आर्चरले ४ ओभरमा ७६ रन खर्च गरे अनि एक विकेट पनि लिएनन्। जवाफमा राजस्थान रोयल्सले सक्दो प्रयास गरे पनि २० ओभरमा ६ विकेट गुमाएर २४२ रन मात्र बनाउन सक्यो। यशस्वी जयसवाल १ र कप्तान रियान पराग ४ रन बनाएर आउट हुँदा रोयल्सको शुरुवात खराब रह्यो। पछिबाट विकेटकीपर ब्याटर ध्रुव जुरेल (७० रन) र सञ्जु सेमसन (६६ रन)-ले अर्द्धशतकको साथ प्रयास गरे पनि टीमलाई जिताउन सकेनन्। जुरेलले ३५ बल खेलेर ६ वटा छक्का र ५ वटा चौका लगाए। यसरी सेमसनसे ३७ बल खेलेर ७ वटा चौका र ४ वटा छक्का लगाए। यसबाहेक शिमरोन हेटमायरले ४२ र शुभम दुबेले अविजित ३४ रनको योगदान दिए।