काेलकत्ता: इण्डियन प्रीमियर लीग (आईपीएल) २०२५-को १८औं सीजन शनिवार काेलकत्ताको ईडन गार्डन्समा भव्य उद्घाटन म्याचको साथ शुरु भयो। आज भएको टुर्नामेण्टको पहिलो म्याचमा रोयल च्यालेञ्जर्स बेंगलुरु (आरसीबी)-ले गत सीजनको च्याम्पियन काेलकत्ता नाइट राइडर्स (केकेआर)-लाई ७ विकेटले पराजित गऱ्यो। म्याचमा टस हारेर पहिला ब्याटिंग गर्दै केकेआर-ले २० ओभरमा ८ विकेट गुमाएर १७४ रन बनायो। जवाफमा आरसीबी-ले १६.२ ओभरमै ३ विकेटमा १७७ रन बनाएर म्याच जित्यो। आरसीबी-बाट ओपनर विराट कोहलीले अविजित ५९ रन बनाए। उनले ३६ बल खेलेर ४ वटा चौका र ३ वटा छक्का लगाए। यसरी उनका साथी ओपनर फिल सल्टले ९ वटा चौका र २ वटा छक्काको साथ ३१ बल खेलेर ५६ रन बनाए। कोहली र सल्टले पहिलो विकेटको निम्ति ८.३ ओभरमा ९५ रनको पार्टनरशीप गरे। सल्ट आउट भएपछि कोहलीले अन्तसम्म क्रीजमा रहेर टीमलाई जीत दिलाए। कप्तान रजत पाटीदारले ३४ रनको योगदान दिए। लियम लिविंगस्टोन १५ रनमा अविजित रहे। यसअघि म्याचमा पहिला ब्याटिंग गर्दै केकेआर-लाई कप्तान अजिंक्य रहाणेले असल स्थितिमा पुऱ्याए पनि पछिबाट लगातार विकेटको पतन हुँदा टीमले सोचे जति रन बनाउन सकेन। क्विण्टन डी कक ४ रन बनाएर पहिलो ओभरमै आउट भएपछि रहाणेले सुनिल नारिनसँग मिलेर दोस्रो विकेटको निम्ति १०३ रनको पार्टनरशीप गरे। रहाणेले ३१ बल खेलेर सर्वाधिक ५६ रन बनाए। उनले ६ वटा चौका र ४ वटा चौका लगाए। यसरी नारिनले ३६ बल खेलेर ५ वटा चौका र ३ वटा छक्काको साथ ४४ रन बनाए। यी दुईजना ३ बलको अन्तरमा आउट भएपछि आरसीबी-ले स्पिनरहरूका बलमा म्याचलाई नियन्त्रणमा ल्यायो। केकेआर-बाट अंगकृष रघुवंशीले तेस्रो सर्वाधिक ३० रन बनाए। आरसीबी-का बलरहरूमा क्रुणाल पाण्ड्याले सर्वाधिक ३ विकेट लिए।