आयुष अधिकारी
क्याल्सियम शरीरको लागि अति आवश्यक तत्त्व हो। यसले हड्डी र दाँतलाई मजबुत बनाउन मद्दत गर्छ। शरीरमा पाइनेमध्ये अधिकांश क्याल्सियम हड्डीमा पाइन्छ। क्याल्सियमकै कारण मुटु, मांसपेशी, रगत तथा स्नायुकोषहरुले पनि शरीरमा स्वस्थ रुपमा काम गरिरहेका हुन्छन्।
वयस्क व्यक्तिले दिनमा कम्तीमा एक हजार मिलिग्राम क्याल्सियम उपभोग गर्नुपर्छ। शरीरमा पर्याप्त मात्रामा क्याल्सियम नपाउँदा हड्डी कमजोर हुने र शरीरका विभिन्न भागमा दुखाइ लगायत विभिन्न स्वास्थ्य समस्या निम्तिन सक्छ।
शरीरमा क्याल्सियमको कमी हुँदा देखिने लक्षण:
मांसपेशी दुखाइ
क्याल्सियमले शरीरको हड्डीलाई बलियो बनाउनुका साथै मांसपेशीहरूलाई सक्रिय, लचिलो राख्न पनि मद्दत गर्छ। क्याल्सियमको कमीले हड्डी र मांसपेशीलाई कमजोर बनाउँछ, जसकारण मांसपेशीहरूमा दुखाइ महसुस हुन्छ।
थकान र कमजोरी
क्याल्सियमले मांसपेशी कार्य र ऊर्जा उत्पादनमा महत्त्वपूर्ण भूमिका खेल्छ। यसको कमीले थकान र कमजोरी निम्त्याउन सक्छ, साथै स्ट्यामिना कम हुनसक्छ, जसकारण केही गर्न मन लाग्दैन।
मुखको स्वास्थ्य बिग्रिन्छ
यदि शरीरमा क्याल्सियमको कमी भयो भने यसको कारणले दाँत र गिजाको स्वास्थ्य बिग्रिन सक्छ। यति मात्र होइन, दाँत कीराले खाने, दाँत हल्लिने वा संवेदनशील हुने पनि क्याल्सियमको कमीको लक्षण हुनसक्छ।
हातखुट्टा झमझमाउने
स्नायु प्रणालीले शरीरका सबै अंगमा सञ्चार गर्न मद्दत गर्छ। यसले श्वासप्रश्वास, मुटुको चाल र रक्तचाप नियन्त्रण गर्छ। स्नायु प्रणालीले राम्रोसँग काम गर्नका लागि शरीरमा क्याल्सियमको मात्रा पर्याप्त हुनुपर्छ। शरीरमा क्याल्सियमको कमी भएमा हातखुट्टा सुन्निने र झमझमाउने समस्या पनि हुन्छ।