बिर्तामोड: झापाको बिर्तामोड-४ एक किलोमिटरमा आफ्नै घरमा मनकामना हार्डवेयर पसल सञ्चालन गर्दै आएका विक्की रौनियार करोडौँ रकम ठगेर भागेका छन्।
करिब दस दिनअघि घरमा ताला लगाएर सपरिवार बेपत्ता भएको पीडितहरुले बताएका छन्। हार्डवेयर पसल सञ्चालन गरेको उनको घरजग्गा बैंकले लिलामी गर्न लागेको जनाइएको छ।
आफूलगायत धेरैजनाको रकम ठगेर रौनियार बेपत्ता भएको गरामनीकी मनिषा शेखले बताइन्। उनले आफ्नो ३ लाख १५ हजार र आफ्नो भिनाजु वासिफ शेखको २ लाख ८५ हजार रुपैयाँ ठगी गरेको बताइन्। उनले अन्य धेरैजनाको करोडौँ रकम ठगेर रौनियार बेपत्ता भएको जानकारी दिइन्।
रकम ठगी गरी रौनियार बेपत्ता भएको कुरा पीडितहरुले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन्। धेरैजनाको रकम ठगी गरी रौनियार भागेको कुरा जानकारी भए पनि प्रहरीकहाँ उजुरी नपरेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी प्रकाश विष्टले बताए।
रकम डुबेकाहरुले केही दिनअघि रौनियारको खाली घरमा तोडफोड गर्न जाँदा प्रहरीले रोकेको विष्टले जानकारी दिए।
बिर्तामोडका अर्का व्यवसायी रौनियार ठगी गरी भागेको कुरा आफूले सुनेको बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले बताए। क–कसको के कति रकम डुबेको भनेर जानकारी नभएको उनले बताए।
बिर्तामोडमा ठगी शृंखला
बिर्तामोडमा बजाज अटो र स्कोडा कारको डिलर खोलेका हलेसी ट्रेडलिंकका प्रोप्राइटर चूडामणि पौडेल करोडौँ रकम ठगी गरी गत साउन २० गतेदेखि बेपत्ता भएका छन्।
करिब दुई अर्ब रकम ठगी गरी नरेन्द्र मैनाली पनि बेपत्ता भएको महिनौ भयो। बिर्तामोड र आसपासका अन्य व्यवसायीको समेत दुई अर्ब रुपैयाँभन्दा बढी रकम लिएर फरार मैनाली काठमाडौँमा लुकेर बसेको आशंका गरिएको छ।
भद्रपुररोडमा ग्लोवल बुक्स एन्ड स्टेसनरी सञ्चालन गर्दै आएका नरेश शर्मा र हेयर एन्ड डर्मा केयर (कपाल उमार्ने) अस्पतालका सञ्चालक मनोराम चिमरिया करोडौँ रकम अपचलन गरेर भागेको पीडितहरुले बताएका छन्।
बिर्तामोड-२ चैतुबारी बजारमा पूजा सामग्रीको पसल सञ्चालन गर्दै आएका ३३ वर्षीय घनश्याम पौडेल करोडौँ रकम ठगेर सम्पर्कविहीन भएको करिब एक वर्ष भइसक्यो।
बिर्तामोड-५ मा व्यवसाय गरेर बसेका पंकज अग्रवाल पनि करोडौँ रुपैयाँ ठगेर फरार छन्। बिर्तामोड-४ का व्यवसायी अनिल अग्रवाल रिंकु पनि विभिन्न सहकारी, व्यवसायी तथा आफन्तको १० करोड रुपैयाँभन्दा बढी लिएर परिवारसहित बेपत्ता भएको वर्षौं भइसक्यो।