लहान: औरही गाउँपालिका-५ मा महायज्ञका नाममा दलित दीपक मलिकको घर डोजर चलाएर भत्काई उठीबास लगाउने गाउँपालिका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलीप यादव पक्राउ परेका छन्। घटनाबारे समाचार सार्वजनिक भएपछि बिहीबारदेखि सम्पर्कविहीन रहँदै आएका अध्यक्ष यादव शुक्रबार दलबलसहित जिल्ला प्रशासन कार्यालय पुगेका थिए। त्यहीँबाट दुवै जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा राखिएको छ।
अछूत भन्दै दलित परिवारको घर नै भत्काउन लगाउने आयोजक बजरंगी बाबा भने पक्राउ परेका छैनन्।
पक्राउ गरिएका दुवैसँग प्रारम्भिक बयान लिइएको छ भने शनिबार पीडित परिवारसँग जाहेरी लिएर थप अनुसन्धान अगाडि बढाउने मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी लालमणि आचार्य बताउँछन्।
मार्च ३० देखि हुने भनिएको महायज्ञका लागि बनाउँदै गरिएको मण्डपनजिकै मलिकको घर थियो। ३० वर्षदेखि बस्दै आएको उक्त दलित परिवारको घर ५ वर्षअघि जनता आवास कार्यक्रमअन्तर्गत बनेको थियो।
आसपासमा दलितको बसोबास र आवतजावतले महायज्ञ अपवित्र हुने भन्दै आयोजक बजरंगी बाबाको आग्रहमा गाउँपालिका अध्यक्ष यादवले पूर्ववडाध्यक्ष यादवसमेतको पहलमा मलिकको घरमा फागुन १० मा डोजर चलाएका थिए। उनले घर मात्र भत्काएनन्, अछूत हुने भन्दै घर भएको ठाउँको माटोसमेत ताछेर फालेका थिए।
घटनाबारे समाचार सार्वजनिक भएपछि चौतर्फी रूपमा दोषीमाथि कारबाहीको माग भइरहेको छ। संघको प्रतिनिधिसभा र मधेशको प्रदेशसभाका सांसदले घटनाप्रति आपत्ति जनाउँदै बिहीबारको बैठकमा संसदीय छानबिनसहित दोषीमाथि कारबाही गर्न माग गरेका थिए। विभिन्न संघसंस्थाले पनि घटनाप्रति भर्त्सना गर्दै दलितमाथि ज्यादती गर्नेलाई कारबाही हुनुपर्ने माग राखेका छन्। प्रहरी भने पीडित परिवारले उजुरी नदिएको बहाना बनाएर पन्छँदै आएको थियो। तर सरकार र प्रहरी-प्रशासनको सर्वत्र आलोचना भएपछि शुक्रबार मात्र उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
पीडकले धम्की दिनुका साथै निगरानीसमेत राखेका कारण दलित परिवारले डरले कतै निस्कन र उजुरी दिन सकेको छैन। ‘पीडकहरू पीडितको गौंडा छेकेर बसेका छन्, पीडितले के गरिरहेका छन्, कसलाई भेटिरहेका छन्, सबै कुरामाथि निगरानी राखिएको छ,’ एक स्थानीय भन्छन्, ‘तर प्रहरी मूकदर्शक बनेको छ।’