खरसाङ: हिजो शुक्रबारदेखि खरसाङको लङ्भ्यु चियाबारीमा चियापत्ती टिप्ने कार्य शुरु भएपछि आज दोस्रो दिन पनि चियापत्ती टिपाईको कार्य सम्पन्न भएको छ। एउटा श्रमिक संगठन एचपीइयुको आन्दोलनको कारण लङ्भ्यु चियाबारी गत ३ मार्चदेखि वर्षको पहिलो चियापत्ती टिप्नदेखि रोक लागेपछि प्रायः बन्द अवस्थामा रहेको चियाबारीमा कमान खोलाउनुपर्छ अनि श्रमिकहरूले काम गर्न पाउनुपर्छ भन्ने पक्षका श्रमिकहरू अनि जोइण्ट फोरम तथा भागोप्रमो समर्थकहरूले शुक्रवारदेखि आफै निस्किएर पत्ती टिप्न थालेपछि शुक्रवार आन्दोलनकारी अनि काम गर्ने पक्षका श्रमिकहरू माझ भनावैरी हुँदा चियाबारी क्षेत्रमा बिहानको समय स्थिति केही तनावपूर्ण भएको थियो। तर पछि स्थिति सामान्य बनेपछि केही श्रमिकहरू दिनभरि पत्ती टिपे भने दोस्रो दिन अर्थात् आज शनिवार पनि श्रमिकहरूले पत्ती टिपे। शनिवार केवल पत्ती टिप्ने श्रमिकहरूको सङ्ख्या साठ्ठी थियो औ तिनीहरूले बिहानको समय एकासी (८१) किलो चियापत्ती टिपेको जानकारी प्राप्त भएको छ।

उनीहरूले टिपेका चियापत्ती बगानकै कारखानाका तयारीको निम्ति लगियो। यता यसै सन्दर्भमा श्रमिकहरूले आन्दोलनको कारण कमान बन्द भएर तिनीहरूले धेरै दुःख पाएको जनाउँदै तिनीहरू कसैको करकाप र प्रलोभनमा काममा ननिस्किएको बरू आफ्नो समस्याको समाधान गर्न स्वेच्छाले पत्ती टिप्न निस्किएको जनाएका छन्।