गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले आज गान्तोक जिल्ला अन्तर्गत वाटर गार्डन नजिकै लोअर मार्तम निवासी प्रतिक्षा राई तथा उनकी माता रेणुका छेत्री र पिता जङ्गधोज राईसॅंग मिन्तोकगाङमा भेट गरेका छन्। प्रतिक्षा राईले नयाँ दिल्लीको द्वारकास्थित जेनिथ एभिएसनबाट व्यावसायिक पाइलट तालिमको परीक्षा सफलतापूर्वक उत्तीर्ण गरेकी छिन्।
मुख्यमन्त्रीले आज सामाजिक सञ्जालमा उक्त जानकारी गराएका छन्। मुख्यमन्त्रीले प्रतिक्षा राई एक सीमान्तकृत परिवारबाट आएको बताउॅंदै उनले आफ्नो प्राथमिक शिक्षा निमटार सरकारी जेएचएसबाट हासिल गरेको जानकारी गराएका छन्। यसैगरी, उनले कक्षा १० सम्मको पढाई मिडिल क्याम्प सरकारी माध्यमिक विद्यालयबाट र उच्चत्तर माध्यमिक शिक्षा देवराली सरकारी कन्या वरिष्ठ माध्यमिक विद्यालयमा पूरा गरेकी हुन्।
मुख्यमन्त्री तामाङले आफ्नो समर्पण र कडा परिश्रमद्वारा उच्च उचाई हासिल गर्न प्रयासरत आर्थिक रूपमा कमजोर पृष्ठभूमिका व्यक्तिहरूलाई सहयोगको हात बढाउन पाउँदा साँच्चै खुशी र सन्तुष्ट महसुस गर्दछु भनी बताएका छन्।