दार्जीलिङ: चिया बोनसलाई केन्द्र गरेर देखा परिरहेको ताजा अस्थिरताबीच आज साङमा अनि टर्जम चियाबारीलाई अनिश्चितकालीन लक आउट घोषणा गरियो। जय श्री टी एण्ड ईण्डसट्रीज अधीनस्थ सञ्चालित उक्त चियाबारीमा काम गर्ने अनुशासित परिवेश रहने लिखित प्रतिश्रुति नपाएसम्म लक आउट जारी रहने प्रबन्धन पक्षले नोटिश जारी गरेको छ। यसबीच काम नभए हाजिरा नहुने स्पष्ट अडान रहे तापनि बत्ती, पानी, दबाई अनि चौकीदारीलाई लक आउटबाट छुट प्रदान गरिएको छ। यता लक आउट-को नोटिशलाई केन्द्र गरेर दोधारमा परेका श्रमिकहरुले प्रबन्धन पक्षविरुद्ध प्राथमिकी दर्ता गर्ने बताएका छन् भने कमानको चल अचल सम्पत्ति सुरक्षित राख्न सबै सजग हुनपर्ने अपिल गरेका छन्। यता चियाबारी केन्द्र गरेर पहाडका राजनैतिक दल अनि जनप्रतिनिधिहरुको मौनतामाथि पनि उनीहरुले गुनासो पोखेका छन्।









